बंगलाचुलीले ५० बेडको आईसुलेसन बनाउँदै, , ४० बेड संचालनमा

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २२ गते बिहिवार

कमिरेचौर,२२ जेठ : दाङमा कोरोना संक्रमितहरुले आईसुलेसन नपाएको गुनासो बढिरहेको अवस्थामा बंगलाचुली गाउँपालिकाले ५० बेडको आईसुलेसन तयार पार्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ ।

अहिले गाउँपालिकाले वडा नं. ४ को झुलिडाँडामा १५ बेडको र वडा नं. १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आईसुलेसन निर्माण गरीसकेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए । साथै प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा १० बेड पछि थप गरिने समेत प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

बंगलाचुली गाउँपालिकाले अहिले १४ जना कोरोना संक्रमित विरामीहरुलाई आफ्नै आईसुलेसनमा राखेर उपचार समेत थालि सकेको छ । यसभन्दा पहिले संक्रमित भएका ४ जनालाई कोरोना अस्पताल बेलझुण्डीमा राखीएको छ । भने प्युठान जिल्लाका २ जनालाई माण्डवि गाउँपालिकामा हस्तान्तरण गरीएको छ ।
संकट व्यवस्थापन केन्द्र दाङको जेष्ठ २१ गते बसेको बैठकले हरेक स्थानियतहले आफ्नो पालिकामा संक्रमितहरुलाई राख्न आईसुलेसन निर्माण गर्ने गरेको निर्णयअनुसार आईसुलेसन तयार पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले बताए ।

कोरोना संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको र जिल्लामा आईसुलेसनको प्रयाप्त व्यवस्था नभएको भन्दै संक्रमितहरुलाई उपचार गर्नका लागि पालिकाले आफै आईसुलेसन बनाउनु पर्ने निर्णय गरेको थियो ।

बंगलाचुली गाउँपालिकाको आईसुलेसनमा मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीहरुको टिमबाट संक्रमितहरुलाई स्वास्थ्य उपचार तथा परामर्स, उपयुक्त प्रेसणको व्यवस्था, सन्तुलित आहारको व्यवस्था गरेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले जानकारी दिए । साथै आईसुलेसनमा आवश्यकता अनुसार अक्सिजनको व्यवस्था समेत गरिएको उनले बताए ।

बंगलाचुली गाउँपालिकामा पिसिआर परिक्षणका क्रममा दिन प्रतिदिन कोरोना संक्रमण देखिन थालेको छ । गाउँपालिकामा बिहिबार सम्म एक जना वडा अध्यक्ष र दुईजना प्युठान जिल्लाको गरि जम्मा २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसैविच अहिलेको विषम परिस्थितिमा बंगलाचुलीका स्थानियवासीहरु हतास नभई आ–आफ्नो सुरक्षा अपनाउदै अग्रमोर्चामा रहेर नागरिकको स्वास्थ्य रक्षाका लागि खट्नुहुने स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी लाई साथ र सहयोग गरिदिन बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले सबैमा अपिल गरेका छन् । गाउँपालिका अध्यक्ष वलीले यो परिस्थितमा कसैले पनि कोरोना महामारीलाई कमजोर नठानी जीवन रक्षा र जनस्वास्थ्यलाई ध्यानमा राखेर जिम्मेवार भएर सहयो गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार