रोल्पामा २ जनाको चट्याङ लागेर मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १६ गते शुक्रवार

रोल्पा : रोल्पामा चट्याङ लागेर दक्षिणी शुक्रबार दुई महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको गुठिमधारामा दुई महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको हो । बिहान करिब १० बजेतिर परेको चट्याङले दुवैजना बेहोस भएका थिए । २४ वर्षीय सविन बुढामगर पनि चट्याङमा परेका थिए। उनको अवस्था सामान्य रहेको छ । बिहानको खाना खाएर बसिरहेको बेला चट्याङ परेको थियो ।

खिर्मा बिहीबार साँझ माइती आउनु भएको थियोे । मृत्यु हुने आशा घाइते सविनकी पत्नी हुन् भने खिर्मा फूपू हुन । चट्याङले पत्नी र माइती आएकी फूपूको मृत्युले बुढामगर परिवार र आफन्त शोकमा डुबेका छन् ।

चट्याङ लागेपछि दुवैजना बेहोस हुनु भएको थियो । उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइएको थियो । अस्पताल पुर्‍याउन नपाउँदै उहाहरुको मृत्यु भइसकेको अस्पतालकी प्रमुख डा। धनमाया घर्तीमगरले जानकारी दिए ।

प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङले बेहोस भएको खबर पाइएपछि प्रहरी घटनास्थल पुगेको थियो । एम्बुलेन्स नभएपछि गाउँपालिकाको जीपमा राखेर दिउँसो अस्पताल ल्याइएको हो ।

चट्याङले घरको ढोकानेरको पर्खालमा क्षति पुगेको छ। खाना खाएर परिवार र माइती आएकी फूपूबीच दुःखसुखका कुराकानी भइरहेको बेला एक्‍कासी चट्याङ परेको थियो । केही दिनयता जिल्लामा हावाहुरीसहित वर्षात् हुँदै आएको छ । हावाहुरीले केही विद्यालय र घरको छाना समेत उडाएको छ।

एक महिनाको बीचमा जिल्लामा चट्याङ लागेर चारजनाको मृत्यु भइसकेको छ । वैशाख २५ गते पूर्वी रोल्पाको सिर्पमा पनि चट्याङ लागेर दुईजना मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार