
प्रकाश केसी
तुलसीपुर, १६ जेठ : दाङको तुलसीपुर १७ बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन । २ पटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई विदाई गरेर घर पठाईएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले बताए ।

निको भएर घरजानेमा कपिलवस्तुका ४ जना, बाँके नरैनापुरका ३ जना र दाङको गढवाका १ जना सहित ८ जना रहेका छन । १४ दिन अस्पतालमा बसेर कोरोना जित्नुभएका दाङ गढवाका ४ का ३६ बर्षीय पुरुषले शुक्रवार अस्पतालबाट निको भएर घर जान पाउँदा एकदमै खुशी भएको बताए । उनले अस्पतालमा राम्रोसंग उपचार पाएको समेत बताए ।

‘ कोरोनाको बारेमा बाहिर जति भ्रम फैलाईएको छ । यो लागेपछि मान्छे मर्छ भन्ने गरिन्छ,’ उनले भने ,‘ तर त्यसो नभई कोरोना जितेर बाच्न सकिन्छ । लापरबाही नगरी आत्मबल बढाए कोरोना जितिन्छ । ’ कोरोना आफुलाई कसरी लाग्यो भन्ने थाहाँ नभएको भएता पनि अब म कोरोनाको कारणले नै सकिन्छु की जस्तो नलागेको समेत उनको भनाई थियो ।

कोरोना जितेकाहरुलाई लिन सम्बन्धित स्थानियतहले एम्बुलेन्स पठाएका थिए । अस्पतालमा ४५ जना कोरोना संक्रमित रहेकोमा ८ डिस्चार्ज भए संगै अहिले ३७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ ।

