
दाङ : दाङको तुलसीपुर १७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ४० जना कोरोना संक्रमितलाई राखिएको छ । दाङ, बाँके, बर्दिया, कपिलबस्तु र रुपन्देहीका संक्रमितहरुलाई राखिएको अस्पतालकाका प्रमुख डा. सर्बेश शर्माले जानकारी दिए ।
त्यसैगरी बुधवार पुष्टि भएका रुकुम पूर्वका ३ जनालाई पनि यहि अस्पतालमा ल्याउन लागीएको र विहीबार बेलुका सम्म आईपुग्ने उनीहरु आएपछि अस्पतालमा ४३ जना संक्रमितहरु हुने उनले बताए । प्रमुख डा. शर्माका अनुसार दाङका १८, बाँकेका ८, बर्दियाका ५ , कपिलबस्तुका ६ र रुपन्देहीका ३ जनालाई राखेर उपचार भइरहेको छ ।
त्यसैगरी अस्पतालमा उपचार गराईरहेका ८ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको उनले बताए । उनीहरुको तेस्रो पटक स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको र आज वा भोली सम्म रिर्पाेट नेगेटिभ आए डिस्चार्ज गरिने समेत उनको भनाई छ ।
जेठ २ गते ल्याइएका मध्य किपलबस्तुका ४, बाँकेका ३ र दाङको गढवाका १ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकारले स्थापना गरेको बेलझुण्डीमा एक सय बेडको आइसोलेनस अस्पताल हो । तर अस्पतालमा ५० जना भन्दा संक्रमितहरुलाई राख्न नमिल्ने अस्पतालका प्रमुख डा. शर्माले बताए ।
‘एक सय बेड क्षमता भनिए पनि संक्रमितलाई राउन्डिङमा राख्नुपर्ने हुँदा ५० जना भन्दा बढी राख्न मिल्दैन,’ उनले भने,‘ अहिले ४० जना छन्, रुकुमबाट ३ जना थपिए ४३ जना हुन्छन्, । नेगेटिभ रिर्पाेट आएकालाई छुट्टै करिब २० बेड चाहिन्छ, १० बेडमा आईसीयु र भेन्टीलेटर र डाक्टरहरु पनि त्यहि बस्नु हुन्छ ।
त्यो भएर अब ५० भन्दा बढि राख्न सकिदैन् । ’ यदि डाक्टरहरुलाई होटलमा बस्ने ब्यवस्था गर्न सकेपछि ५० भन्दा बढि राख्न सकिन्छ, नत्र अस्पतालमा ५० भन्दा बढि राख्न नमिल्ने उनले बताए । त्यसैगरी उनले दाङमा ५० बेडको अर्काे अस्पताल बनाउनु पर्ने बताए ।
‘ दिन दिनै संक्रमितको संख्या बढ्दै छ, उनले भने,’ बेलझुण्डीमा ५० भन्दा बढि राख्न मिल्दैन्, त्यसैले अब तत्काल अर्काे अस्पताल स्थापना गर्नु पर्छ । ’ अहिले अस्पतालमा रहेको संक्रमितहरुको अवस्था सामान्य रहेको समेत अस्पतालले जनाएको छ ।