काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एकजना वृद्धले ज्यान गुमाएका छन्। किस्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका २२, बुङ्मती निवासी ती बिरामीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
किस्ट अस्पतालमा उपचाररत ती पुरुषको निधनसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकबहादुर राईका अनुसार ५७ वर्षीय ती पुरुषको बुधबार साँझ ज्यान गएको हो।
एसएसपी राईका अनुसार ती पुरुष कलेजोका बिरामी पनि थिए। उनलाई गत जेठ १२ गते उक्त अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो। कलेजोको उपचारका लागि किस्ट भर्ना भएपछि उनको स्वाब परीक्षण गरिएको थियो। अस्पतालले स्वाब लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगेको थियो।
ती व्यक्तिको ज्यान गइसकेपछि उनमा कोरोना संक्रमण भएको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको थियो। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पनि ती पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएको बताए।
उनले भने,’अस्पतालमा भर्ना भएदेखि नै आइसियुको कक्षमा थिए। गम्भीर अवस्थामा अस्पतालमा आउनुभएको थियो।’ उनी ‘अल्कोहलिक लिभर डिजिज’ का कारण अस्पताल भर्ना भएका थिए। नेपालमा उनीसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। यससभन्दा पहिले सिन्धुपाल्चोकमा २९ वर्षीया महिला, बाँकेमा २५ वर्षीय युवक, गुल्मीमा एकजना शिक्षक र बारामा ७० वर्षीय वृद्धले कोरोनाबाट ज्यान गुमाएका थिए। नेपालमा अहिलेसम्म ८८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमा १८३ जना निको भएर अस्पतालबाट घर फिरिसकेका छन्। बुधबार मात्रै ११४ जना नयाँ संक्रमित भेटिएका छन् भने मंगलबार ९० जना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ।
स्रोत : थाहा खबर