पश्चिम रुकुम घटनाः भेरी नदीमा हराएका युवकको शव डोरीले बाँधिएको अवस्थामा फेला

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १४ गते बुधवार

काठमाडौ : शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता रहेका जाजरकोटका एक किशोरको शव फेला परेको छ । योसँगै घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

भेरी नगरपालिका स्थित नदीमा फेला परेको शव भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको रहेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार डोरीले हात बाँधेको अवस्थामा सुनारको शव फेला परेको हो । उनको टाउकोमा समेत चोट लागेको छ ।

जेठ १० गते साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये यसअघि ३ जनाको शव भेटिइसकेको छ भने २ जना अझै बेपत्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिका​को गाउँ सोती पुगेका थिए। त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेपछि उक्त घटना भएको थियो। 

घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक श्रेष्ठले बताए । “हत्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्न, अनुसन्धानपछि यथार्थ विस्तारै खुल्छ”, उनले भने, “शव परीक्षण रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला ।”

यता, घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

स्रोत : रातोपार्टी

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार