काठमाडाैं, ७ जेठ : आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को ‘अप्रत्यक्ष’ प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएकाे छ । आज बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।
अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
वर्षाका कारण खोलानालाहरुमा पानीको मात्रा बढेर बाढीसमेत आउन सक्ने भएकोले त्यसबारेमा पनि सचेत हुनसमेत महाशाखाले अनुराेध गरेकाे छ ।