शान्तिनगर : दाङको शान्तिनगर गाउँपालिका २ अमुवामा रहेको अम्बिकेश्वरी आधारभुत विद्यालयमा २ भुकम्प प्रतिरोधात्मक कोठे पक्की भवन निर्माणको काम सुरु भएको छ । लकडाउनका कारण निर्माण हुन नसकेको उक्त भवन सरकार विकास निर्माणको लागी सामाजिक दुरी कायम राखी खुकुलो बनाए पछि भवन निर्माण कार्य शुरु गरेको विद्यालयका प्रधानाध्यापक गफार मियाँले बताए ।
आइतबार भवनको शिलन्यास वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीले गरेका हुन् । त्यसैगरी अध्यक्ष डाँगीले लकडाउनको समयमा निर्माण गर्न लागेको भवनमा काम गर्ने मजदुरहरुले सामाजिक दुरीको कायम गरी निर्माण गर्न आग्रह गरे ।
त्यसैगरी उनले विद्यालयमा आगामी बर्ष पनि थप भवन निर्माणको लागी आफुले पहल गर्ने समेत प्रतिवद्धता जनाए । ‘ विद्यालयले भवनको मात्र नभई विद्यार्थीहरुले प्रदान गर्ने शिक्षा पनि ध्यान दिनु पर्छ,’ उनले भने,‘ भवन मात्र थपेर हुदैन् विद्यार्थीहरुको संख्या घट्दै जानु भएन्, त्यसैले विद्यालयले गुणस्तरिय शिक्षा दिएर अभिभावक तथा विद्यार्थीको विश्वास लिन सक्नु पर्छ ।’
गाउँपालिकाबाट बिनियोजित १८ लाख लागतमा सो भवन निर्माण सम्पन्न हुने विद्यालयका प्रअ मियाँले बताए । विद्यालयमा भवन अभाव हुदाँ गत बर्ष विद्यालयले एउटा कोठालाई २ वटा कक्षाका विद्यार्थीहरुलाई पढाउँदै आएको थियो ।
अहिले यो भवन निर्माण भएपछि केही सहज हुने भएता पनि अझै २ वटा कोठा विद्यालयलाई अभाव हुने विद्यालयले जनाएको छ । विद्यालयले नर्सरीदेखी कक्षा ८ सम्म ११ वटा अंग्रेजी माध्यामबाट कक्षा संचालन गर्दै आएको छ ।