तुलसीपुरका ४ वटा पसलबाट म्याद नाँघेका र अखाद्य वस्तु वरामद

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २३ गते मङ्गलवार

दाङ , २३ बैशाख :  लकडाउनको समयमा गलत फाइदा उठाउँदै म्याद नाँघेका र अखाद्य वस्तु विक्री गर्दै आएका तुलसीपुर क्षेत्रका ४ वटा पसलबाट सामान वरामद गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले विभिन्न सरोकारवाला निकायसंगको समन्वयमा गरेको अनुगमनका क्रममा खाद्यान्न तथा किराना पसलहरुबाट अखाद्यका साथै म्याद नाँघेका वस्तुहरु समेत वेच्ने गरेको पाइएको थियो ।

उपभोक्ता हित संरक्षण शाखाकी अधिकृत रेवा रावतको नेतृत्वमा वजार क्षेत्रभित्र रहेका एक दर्जन पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनमा क्रममा ४ वटा पसलबाट म्याद नाँघेका र अखाद्य वस्तुहरु वरामद गरिएको वताइएको छ । ‘ पसलबाट विभिन्न परिमाणमा चाउँचाउँ, विस्कुट, चिउरा, वेसन, तेल, लिची जुस, फ्रुटी, मसला, गुल्कोज, एप्पल जुस लगायतका सामानहरु वरामद गरिएको छ ’ अधिकृत रावतले बताईन् ।

अनुगमनका क्रममा सबै पसलहरुलाई मुल्यसूची राख्नका लागि निर्देशन समेत दिइएको थियो । ‘सबै पसलहरुले मुल्य सूची राख्ने प्रतिवद्धता जनाएका छन् ’ वडा नम्वर ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले बताए ।

विभिन्न ठाउँबाट जनगुनासो आएसंगै तुलसीपुर उपमहानगरपालिकाले नियमित रुपमा अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा वरामद गरिएको सामान सबैको रोहवरमा नष्ट गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार