नेपालमा अझै एक साता पानी पर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २३ गते मङ्गलवार

काठमाडौं : नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ। पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ।

त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ।  पूर्वमनसुन (प्रिमनसुन)को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको  मौसमविद् प्रतिभा मानन्धर बताइन्।

‘अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ।’ उनले भनिन्।  पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उनको भनाइ छ।  सिजन परिवर्तन हुँदै गर्दा र मनसुनको वातावरण बन्ने क्रममा धेरै किसिमका वायु नेपाल भित्रने गर्छ।

जुन वायुले अन्य वायुलाई विस्थापित गर्न सक्छ, त्यो रहन्छ। अन्य वायु कमजोर बन्छ। मौसममा आएको उतारचढाव रहेकाले सचेत रहन महाशाखाले भनेको छ। नेपालमा आगामी जुन १० देखि मनसुन भित्रने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार