तुलसीपुर, २० बैशाख : बाँकेको नेपालगञ्जमा कोरोना संक्रमित देखिएसँगै दाङको तुलसीपुर उपमहानगरपालिकाले नेपालगञ्जबाट आउने नाकामा कडाई गर्ने भएको छ । नेपालगञ्जबाट आउने मुख्य नाकामा रुपमा रहेको तुलसीपुरको फुलवारी दमारगाउँमा चौविसै घण्टा कडा चेकजाँच गरिने भएको हो ।
कोरोना विपद् व्यवस्थापन समितिको आयोजनामा शनिवार भएको वैठकमा खाद्यान्न, पेट्रोलियम पदार्थ, एम्बुलेन्स लगाएतका सवारीहरुलाई कडा चेकजाँच गर्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले बताए । उनले सवारी चालक र सहचालकले सुरक्षा विधि अनिवार्य रुपमा पालना गरेको भए मात्रै प्रवेश गर्न दिइने समेत बताए ।
मेडिकल मास्क वा एन १९ मास्क प्रयोग गरेका वा अन्य सुरक्षा विधि पुरा गरेकालाई मात्र चेकजाँच गरेर मात्रै प्रवेश दिइने उनले बताए । त्यसैगरी उत्तरमा गोठीखोला, पश्चिममा बालापुर र पूर्वमा बेलझुण्डीमा पनि चेकजाँच गर्ने निर्णय गरेको उपमहानगरका जनस्वास्थ्य निरिक्षक एंव कोभिड १९ फोकल पर्सन बिमल केसीले बताए ।
बाहिर आएका ब्यक्तिहरुलाई शंका लागेमा क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिएको उनले बताए । त्यसैगरी दाङबाट धेरै एम्बुलेन्सहरु विरामी लगेर बाँके जाने भएकाले एम्बुलेन्समा कडाई गरिने पनि निर्णय केसीले बताए । ‘ चालकले अनिवार्य पिपिई लगाएको र विरामीसँग पार्टेसन गर्नुपर्ने जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले बताए ।
‘ विरामीले पनि २ जनाभन्दा बढि कुरुवा लैजान नपाउनुका साथै अस्पतालमा बसेर आएकालाई होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ, ’ उनले भने । अबदेखि नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्ड राखिने पनि भएको छ । बैठकमा सुरक्षाकर्मी, एम्बुलेन्स चालक र अन्य सरोकारवालको सहभागिता रहेको थियो ।