काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मे १ अर्थात् श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। श्रमिक दिवसलाई सभापति देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भनेका छन्।
नेपालको सन्दर्भमा प्रजातन्त्र स्थापनाको लागि भएको २००७ सालको क्रान्तिको सुरूवाती विन्दु नै विराटनगरमा भएको मजदूरहरूको पहिलो आन्दोलन भएको दावी गरे। तत्कालीन राणा सरकारले उक्त आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर नेता कांग्रेस नेता वीपी कोइरालालगायतलाई पक्राउ गरेको भन्दै देउवाले कांग्रेस र मजदुरहरू सधैं एक(अर्काको अनन्य सहयोगी रहेको पनि बताएका छन्।
शुभकामना सन्देशमार्फत् उनले पूरै विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट प्रताडित भएको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले श्रम गरेर गुजारा गर्ने श्रमिकहरूको जीवन कस्टकर बनेको बताए।
‘खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ’, सभापति देउवाले भनेका छन्, ‘लकडाउनका कारण श्रमिकले कस्टकर स्थिति भोगिरहेका बेला उनीहरूलाई अविलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु।’ उनले श्रमिक वर्गलाई पर्याप्त राहत वितरणका लागि सरकारको बारम्बार ध्यानाकर्षण गराउँदै आएको पनि बताएका छन्।