• २०७७ कार्तिक ४ गते मङ्गलवार

रुकुम घटना : अर्का युवकको शव भेटियो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १५ गते बिहिवार

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बिहीबार फेला परेको छ।

हालसम्म यो घटनामा पाँच जनाको शव फेला परेको छ। गोविन्द शाही अझै बेपत्ता छन्। शसस्त्र प्रहरीको गोताखोर टोलीले सन्जु विकको शव बिहीबार फेला पारेको हो। जाजरकोट छेडागाड नगरपालिका( ५ कालेभिरमा जाजरकोट भेरी नगरपालिका( ४ बस्ने १९ वर्षीय सन्जुको शव भेटिएको हो।

यसअघि गोताखोरले बुधबार लोकेन्द्र सुनारको शव फेला पारेको थियो। लोकेन्द्रको शव घटनास्थलभन्दा करिब ७ किलोमिटर पर चौरजहारी नगरपालिका( १ अधेरेस्थित भेरी नदिमा भेटिएको थियो। गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको थियो।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए।

उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ।

नवराजको शव सोही दिन राति १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनी भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो।

अर्का एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो। यस घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ। प्रहरीले युवतीका बुबाआमा र वडाध्यक्षसहित १८ जनालाई पक्राउ गरेको छ। यसअघि १२ जना पक्राउ परेकामा बिहीबार थप ६ जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार