प्रतिष्ठानमा कोरोना संक्रमित विरामीको उपचार हुने, बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ६ गते मङ्गलवार


घोराही : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा अबदेखी कोरोना संक्रमितलाई विरामीको उपचार गरिने भएको छ । यसअघि कोरोना भाइरसको परिक्षण गर्दै आएको प्रतिष्ठानले अब कोरोना पुष्टि भए प्रतिष्ठानमै राखेर उपचार गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले मंगलवारदेखि अस्पतालको बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेर कोरोना संक्रमितहरुलाई प्रतिष्ठानमै राखेर उपचार गर्ने भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठान अन्तर्गत रहेका सम्पूर्ण अस्पतालहरुलाई मन्त्रालयमा पेश गरे अनुसारको आइसोलेशन बेड र जनशक्ति तयारी अवस्थामा राख्न समेत प्रतिष्ठानले आग्रह गरेको छ । त्यसैगरी प्रतिष्ठानले बिरामीहरुलाई तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल लगाएतका अन्य अस्पतालहरुमा जान आग्रह गरेको छ ।

त्यसैगरी दाङको तुलसीपुर १७ बेलझुण्डीमा प्रदेश ५ सरकारले स्थापना गरेको एक सय बेडको कोरोना विशेष अस्पताल स्थापना गरी अहिले दाङ लगाएत बाँके र कपिलबस्तुका कोरोना संक्रमित विरामीको उपचार हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार