
तुलसीपुर, फागुणमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता बैशाखमा आएको थाहाँ पाएका बृद्धबृद्धा तुलसीपुरका बैकंको गेटमा बिहानै पुगेका छन् । लकडाउनको जानकारी पाएका तर बेवास्ता गर्दै उनीहरु बैक खुल्न भन्दा झण्डै २ घण्टा अघि पुग्ने गरेका छन् ।
जेष्ठ नागरिक समाजसँग गरिएको छलफलले प्रत्येक बैकले बिहान ११ बजेदेखि १ बजेसम्म हप्तामा दुई दिन सामाजिक सुरक्षा भत्ता बितरण गर्ने सहमति भएको छ । सहमतिको आधारमा बैकहरुले सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेको सूचना पाएका बृद्धबृद्धा,अपाङ,एकल महिला लगाएतको बैंकमा ठुलो भिड लाग्ने गरेको छ ।
सामाजिक दुरीलाई समेत बेवास्ता गरि भीड लाग्ने गरेका कारण बैकलाई ब्यबस्थापन गर्न पनि समस्या भएको छ । भने कोरोना भाईरस संक्रमणको जोखिममा रहेका उमेर समूहका बृद्धबृद्धालाई ब्यबस्थापन गर्न नसकेको भन्दै स्थानीय सरकारको आलोचना हुने गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले भीड नगरी दिन आग्रह गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै , असक्तहरुका लागि घरघरमै सामाजिक सुरक्षा भत्ता पु¥याई दिन वडा अध्यक्ष र सदस्यहरुलाई आग्रह गरेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको १८ ले टोल टोलमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको छ ।

मुलुकभर लकडाउन भैरहेको अवस्थामा बैंकमा गएर सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा धाउनु पर्दा सामाजिक दुरी कायम हुन नसक्ने तथा वृद्धवृद्धाहरुलाई समस्या समेत पर्ने अवस्थालाई ध्यानमा राखि टोलटोलमै गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको तुलसीपुर उपमहानगरपालिका १८ ले जनाएको छ ।
‘बृद्धभत्ता बुझ्न बैंक सम्म धाउनुपर्ने र त्यहाँपनि भिडभाड हुने अवस्थालाई ध्यानदिंदै सकेसम्म घरघरमै पुगेर वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेका छौं’, वडाध्यक्ष माधव वलीले भने । वडासदस्य धनबहादुर बस्नेतका अनुसार वडाभरी सामाजिक सुरक्षा भत्ता पाउनेहरुको तथ्यांक सम्बन्धित टोलविकास संस्था मार्फत संकलन गरि चेकबुक/पासबुक समेतमा ल्याप्चे लगाई बैंकबाट पैसा झिकेर सम्बन्धित व्यक्तिलाई बुझाइएको हो ।
‘बैंकमा ज्येष्ठ नागरीकहरु लाइनमा बस्दा कोरोनाको संक्रमण फैलने समस्यासँगै भत्ता बुझ्नेहरुलाई बैंकसम्म जान समेत समस्या भएकाले वडा कार्यालयले सहजताका लागि यो अभ्यास सुरु गरेको हो’, वडासदस्य बस्नेतले भने । भत्ता बाँड्न वडाध्यक्ष सहित वडाका जनप्रतिनिधिहरु र कर्मचारीहरु समेत खटिएका छन् । तुलसीपुर उपमहानगरबाट १२ हजार १ सय ५९ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् ।