बलिउड अभिनेता इरफान खानको निधन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १७ गते बुधवार

काठमाडौं : बलिउड अभिनेता इरफान खानको बुधबार निधन भएको छ। उनको मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  भारतीय सञ्‍चारमाध्यमका अनुसार अभिनेता खानको ५४ वर्षको उमेरमा निधन भएको हो।

उनी मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत थिए। गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका उनले जिन्दगीको युद्धमा हार्दै प्राण त्यागेका हुन्।  समाचार अनुसार उनी पेटको समस्यासँग जुधिरहेका थिए। उनलाई कोलोन इन्फेक्सन भएको थियो।

निर्देशक सुजीत सरकारले इरफान खानको निधनको पुष्टि गरेका छन्।  ‘मेरा प्यारा मित्र इरफान! तिमी लड्यौ र लडिरह्‍यौ। मलाई तिमीप्रति हमेस गर्व रहनेछन। हामी फेरि भेट्नेछौं। सुतापा र बाबिललाई मेरो समवेदना । तिमीले पनि लडाइँ लड्यौ।

सुतापा यस लडाईमा जो तिमीलाई दिन सक्थिन्, तिमीले सबै दियौ। इरफान खानलाई सलाम।’ बलिउडका दिग्गज अभिनेतामा एक इरफान खानको अचानक भएको निधनले उनका फ्यान र बलिउड कलाकार स्तब्ध भएका छन्। दुई वर्षअघि मार्च २०१८ मा इरफानलाई न्यूरो इन्डोक्राइन ट्युमर नामकको समस्या देखिएको थियो। विदेशमा यस रोगको उपचारपछि उनी ठीक भएका थिए। तर उनी यो पटक पेटको रोगसँग हार्न पुगे। 

साताअघि आमाको निधन इरफानकी आमाको गत शनिबार मात्रै निधन भएको थियो। स्वयम् ओच्छ्यान परेका कारण इरफान आमाको अन्त्येष्टीमा सामेल हुन पाएनन्। उनले भिडियो कलमार्फत आमाको अन्त्येष्टी हेरेका थिए।

इरफानले बिरामी परेयता एउटा मात्र चलचित्र ‘अंग्रेजी मिडियम’मा अभिनय गरेका थिए। उनले सलाम बम्बे, मकबुल, पानसिंह तोमर, लञ्चबक्स, हाइदर, हिन्दी मिडियम जस्ता चलचित्रमा अभिनय गरेका छन्।

इरफान हलिउडमा समेत सफलता हासिल गरेका सीमित भारतीय अभिनेतामध्ये पर्दछन्। स्लमडग मिलेनियर, जुरासिक वर्ल्ड, अमेजिङ स्पाइडर–म्यान तथा लाइफ अफ पाइ उनले अभिनय गरेका हलिउड चलचित्र हुन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार