
विकास डाँगी
शान्तिनगर,१५ बैशाख, एक महिना भन्दा बढि लकडाउन (बन्दाबन्दी) भएपछि यतिबेला सबै भन्दा बढि दैनिक ज्याला मजदुरी गर्ने गरी खाने परिवारहरु मारमा परेका छन् । विभिन्न जिल्ला काम गर्न गएकाहरु केही पैदल यात्रा गरेका आएका छन् भने कोही काम बन्द हुदाँ घर मै बस्न बाध्य भएका छन् । लकडाउन लम्बिदै गएपनि दाङका १० स्थानियतहरुले पहिलो चरणको राहत दिई सकेका छन् ।
तर पनि त्यो राहत अझै पनि धेरैले नपाएको गुनासो गरेका छन् । दाङको शान्तिनगर गाउँपालिका ७ दुविचौरका ७९ बर्षिय हुर्मत नेपालीले वडाले दिएको राहत नपाएको गरे । उनले आफु राहत लिन आउँदा सकियो भनेर नपाएको बताए । नेपालीका ५ जना परिवार छन् । ‘छोरा भारत कमाउन गएका र लकडाउनले गर्दा उतै समस्या परेको छ, घरमा कमाउने मान्छे छैन्’ उनले भने ,’ शनिवार एक जना युवा ब्यवसायीले राहत दिने भनेर वडाबाट जानकारी पाएपछि लिन आएको हु ।
अहिले १० किलो चामल र १ किलो नुन पाए यस्ले कति दिन होला ।’ त्यसैगरी सोही वडाकी मिना जैसीले पनि राहत नपाएको गरिन् । ‘श्रीमान विदेश हुनुहुन्छ, त्यहाँ पनि लकडाउनको कारणले काम बन्द छ ’ उनले भनिन्,‘ घरमा छोरा छोरी सासु सुसुरा गरी ५ जनाको परिवार छौँ । न त यहाँ काम गरौँ काम छ, न त विदेश श्रीमानको कमाई छ । यो बन्द कहिले सम्म हो । ’ शनिवार एक जना ब्यक्तिले दिएको १० किलो चामल र १ किलो नुन पाए, त्यसले कति दिन पुग्छ ? ’
त्यसैगरी सोही वडाकी सुशिला विकले पनि राहत नपाएको बताईन् । वडाले राहत दिएको भएता पनि आफुहरुले नपाएको बताईन् । घरमा ७ जनाका परिवार छ, उनले भनिन् ,‘ काम गर्ने ४ जना हो । तर अहिले एक महिना भन्दा बढि बन्द हुदाँ बेरोजार भैयौँ, गाउँमा अईचो पैचो गरेर दैनिकी चलेको छ । ’शनिवार आफुले एक जना ब्यवसायीले दिएको १५ किलो चामल र १ किलो नुन मात्र पाएको र यसले पनि कति दिन हुने हो थाहाँ छैन्,’ उनले भनिन् ।
बन्द कहिले सम्म हुने हो त्यो पनि छैन् बरु वडामा हुने विकास निर्माणमा आफुहरुलाई रोजगार दिए सहज हुने उनले बताईन् । त्यसैगरी वडा नं. ७ धनौराका १५ बर्षिय राजेश रानाले पहिले वडाबाट २५ किलो चामल, दाल, नुन र तेल पाएको भन्दै त्यो पनि सकिन लागेको उनले बताए । ‘ आमा बुवा हुनु हुन्छ, घरमा ४ भाई बहिनी मात्र छौं’ दिदीले र दाईले मजदुरी गर्नु हुन्छ, उनले भने,‘ अहिले लकडाउनको कारण काम बन्द भएपछि समस्या भएको छ ।’
शनिवार ब्यक्तिले सहयोग गरेको १० किलो चामल र १ किलो नुन पाएको भन्दै यस्ले पनि धेरै दिन नहुने बताए ।
‘लकडाउन लम्बिदै गएको छ, कामकाज केही छैन्, कसरी दैनिकी चलाउने समस्या छ’, उनले भने । यता वडा कार्यालयले भने राहतको लागी १२५ जनाको लिष्ट पठाएको भएता पनि गाउँपालिकाले ८५ जनाका लागी मात्र राहत दिएको वडाध्यक्ष पिमलाल वलीले बताए ।
गाउँपालिकामा ७ वटै वडाहरुले राहतको लागी लिष्ट पठाएको भएता पनि कुनै वडाले जति पठाए त्यति नै पाएको आफ्नो वडाबाट पठाएकोमा ५० प्रतिशतलाई मात्र राहत आएको र त्यहि आफुले वितरण गरेको वडाध्यक्ष वलीले बताए । बांकी नपाएका घरपरिवारहरुलाई विभिन्न ब्यक्तिहरुले दिएको राहत वितरण आएको उनले बताए । दंगीशरण गाउँपालिकाका ६ का युवा ब्यवसायी जयराम वलीले सहयोग गर्नुभएको राहत नपाएकालाई वितरण गरेको उनले बताए ।
‘हामीले ५० जनालाई भनेर ब्यवसायी वलीलाई जनाकारी गराएका थियौ,’ उनले भने, ‘ ६४ जना राहत लिन आएपछि सबैलाई मिलाएर दियौं । ’ त्यसैगरी अहिले वडामा बाहिर जिल्लाबाट आएका ब्यक्तिहरुलाई वडाले नै खैरेनीमा रहेको वन कार्यालय भवनको क्वारेन्टाइनको ब्यवस्था गरी ४ जनालाई क्वारेन्टाइनमा बसालेको उनले बताए ।