काठमाडौं ,११ बैशाख : नेपालमा दुईजना कोरोना संक्रमित थपिएका छन्। जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी एकजना ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।
त्यसैगरी धनुषाको जनकपुरस्थित एक जना १४ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।
यससँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ। अर्कातिर निको हुनेको संख्या पनि ९ पुगेको जानकारी डा. देवकोटाले दिएका छन्। देवकोटाका अनुसार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजना पनि निको भएका छन्।
बेलायतको लण्डनबाट चैत ४ मा आएका उनीहरु कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा थिए। अहिले नेपालमा विभिन्न ठाउँमा १० हजार ५७३ जना क्वारेन्टाइनमा र ८६ जना आईसोलेशनमा छन् ।