तुलसीपुर, ७ बैशाख : नेपालमा लकडाउन भएको आइतबार २७ औं दिन भयो । तर तुलसीपुर बजारमा भने लकडाउन पूर्णरुपमा पालना हुदै आएको देखिएको छैन् । बजारमा विहान विभिन्न सामानहरु किन्नको लागी मानिसहरुको बाक्लो भिडभाड देखिएको हुन्छ । मानिसहरुलाई सहजताको लागी प्रत्यक दिन बिहान ९ बजे सम्म बजारमा खाद्य पसलहरु खुल्दै आएका छन् । तर बजारमा किनमेल गर्ने भन्दा पनि अन्य धेरै मानिसहरु लखर लखर हिडेको देख्न पाईन्छ ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एवं प्रहरी निरीक्षक चक्र डम्मरपालले तुलसीपुरमा नागरिकहरुलाई बारम्बार लकडाउनको पूर्र्णरुपमा पालना गर्न अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको बताए । तुलसीपुरमा प्रत्यक दिन बिहान अतिआवश्य बस्तुहरु उपभोक्ताहरुलाई सहज गर्नको लागी पसलहरु खुल्ने भएको भएता पनि नागरिकहरु सामान किन्न भन्दा पनि त्यतिकै बाहिर आउने गरेको उनले बताए ।
हामीले माईकीङ, तथा संचार माध्यामबाट कोरोना संक्रमणबाट बच्नको लागी लकडाउनको पालना गर्न अनुरोध गर्दा पनि अझै बजारमा अटेरी गरेको पाईएकाले अब बल प्रयोग गर्नु पर्ने स्थिती आएको उनले बताए ।
जसको घरमा अतिआवश्यक सामानको आवश्यक छ, त्यस घरबाट एक जना आएर किन्न सक्छ,उनले भने,‘ तर मनिङ वाकको निहुमा एक मुठा साग किन्न श्रीमान,श्रीमतीहरु किन्न आएको देखिन्छ । त्यसैले कोरोना संक्रमणबाट अझ बढ्न सक्छ ।’ हामी १५/२० जना प्रहरी टोली प्रत्यक टोल –टोलमा गई सबैलाई आह्वान गरेका छौँ, यदि अटेरी गरे हामी सामान्य बल प्रयो गर्न बाध्य हुने छौँ, उनले भने ।