नेपालमा संक्रमितको संख्या ३१ पुग्यो, नयाँ संक्रमित पनि भुल्के मस्जिदकै भारतीय

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ६ गते शनिवार

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मात्रै एकजना पुरुषमा कोरोना पुष्टि भएको हो। एकजना ६५ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने २८ जना अझै अस्पतालमा उपचाररत छन्। 

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष पनि भारतीय हुन्। ती पुरुष शुक्रबार उदयपुरको भुल्के मस्जिदमा रहेका १२ जना संक्रमित समूहकै रहेका मन्त्रालयले जनाएको छ। उनी पनि भारतीय नागरिक भएको मन्त्रालयले जनाएको छ। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयसहित १६ जना मुस्लिम समुदायका मानिसहरुमा कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

  वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमासमेत अनुगमन गरिएको थियो। मस्जिदमै पुगेर लिइएको आरडीटी टेस्टमा कोरोना पुष्टि नभएपछि स्वाब बिराटनगरमा लगेर गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।  उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेका पहाडीले बताए।

उनीहरु लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै स्थानीय बासिन्दाले प्रशासनलाई खबर गरेका थिए। भुल्केको मस्जिदमा रहेका १६ जनाको स्वाब लिन स्वास्थ्यकर्मीले त्यहीँ गएर लिएका थिए।  उनीहरुको स्वाब टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पुनपरीक्षण गर्दा पनि कोरोना देखिएको थियो। त्यसपछि उनीहरुलाई शुक्रबारै एम्बुलेन्सबाट आइसोलेनसमा राख्न बिराटनगरस्थित कोरोना अस्पतालमा लगिएको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार