
बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत एक बिरामीको मृत्यु भएको छ। कोरोना संक्रमणसँग ठ्याक्कै मिल्दोजुल्दो संक्रमण भएका गुलरिया नगरपालिकाका ४२ वर्षीय इसराइल बेहनाको मृत्यु भएको हो। उनको मृत्युको कारण नेपालगन्ज यतिबेला सतर्क भएको छ।
उपचारमा खटिने चिकित्सक, स्वास्थ्यसँग सम्बन्धित निकाय, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखबीच लामो छलफल भएको छ। ज्वरो, रुघाखोकीसँगै श्वास्प्रश्वासमा समस्या देखिएका बेहनालाई उनका परिवारले चैत्र ३ गते मध्यरातमा उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरेका थिए।
बिरामीको अवस्था जटिल भएकोले अस्पतालले बेहनालाई सीधै आइसियूमा भर्ना गरेको थियो। उनको चैत्र ६ गते बिहान करिब ६ बजेतिर मृत्यु भएको हो।मृत्युलगत्तै जनस्वास्थ्य कार्यालय र प्रजिअसहित चार वटै सुरक्षा निकायका प्रमुख सहितको टोलीले चिकित्सकसँग छलफल गरेका छन्। शिक्षण अस्पताल नेपालगन्जका उपनिर्देशक डा. रोमन किदवाईका अनुसार अस्पताल ल्याउने बेला बिरामीको अवस्था बिग्रिसकेको थियो।
मृतक बेहनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको उपनिर्देशक किदवाईले बताए। अस्पतालमा आरडिटी किट नभएका कारण समयमा कोरोना भाइरस जाँच गर्न नसकिएको किदवाईले बताए। आरडिटी किट उपलब्ध नहुँदा बेहनाको परीक्षण नभएको उनको भनाइ छ।
थाहा खबर