सल्यान : नक्कली बिरामी बनी एम्बुलेन्सको दुरुपयोग गरेको आरोपले प्रहरीले सल्यानमा चार जनालाई पक्राउ गरेको छ। झुठो कागजात र नक्कली बिरामी बनाई रुकुमबाट दाङको तुलसीपुर जाँदै गरेका उनीहरुलाई बागचौर नगरपालिका ४ बांगेलाखुरीबाट प्रहरीले एम्बुलेन्ससहित समातेको हो।
मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा१च ५१२ नम्बरको एम्बुलेन्समा उनीहरु सवार रहेका इलाका प्रहरी कार्यालय थारमारे सल्यानले जनाएको छ।पक्राउ पर्नेमा दाङ लमही नगरपालिका ३ बस्ने २९ वर्षीय मीनराज सुवेदी, २३ वर्षीय दिप्तु चोधरी, १८ वर्षीय रविन चौधरी र एम्बुलेन्स चालक ३० वर्षीय गिरिराज खत्री रहेका थारमारेका प्रहरी प्रमुख लिला भक्त बादेले बताए।
उनीहरुको साथबाट पश्चिम रुकुम क्षेत्रमा रहेको नेपाल सरकारअन्तर्गत स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट जारी भएको पे्रषण स्थानान्तारणको पुर्जा, उक्त पुर्जामा बिरामीको नाम प्रकाश बुढा रुकुम पश्चिम मुसिकोट ९ लेखिएको थियो। तर उक्त एम्बुलेन्समा कुनै पनि व्यक्तिको वास्तविक नाम थरसँग मेल नखाएकाले पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले बताएको छ।