तुलसीपुर, २ बैशाख : तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको तरकारी तथा फलफुल बजारमा भारतबाट ल्याइएको तरकारी तथा फलफुलको अवैध प्रवेश बढेपछि सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ लगाएतको अनुगमनबाट भारतीय तरकारी अबैध ढँगबाट भित्रिएको भन्दै सिल गरिएको हो ।
संक्रमणको प्रकोप बढिरहेको समयमा पनि भारतबाट कुनै पनि प्रक्रिया पुरा नगरेर गाडी ल्याउने गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले बताए । उाले स्थानीय सरकारले सर्वपक्षिय भेला राखेर भारतबाट तरकारी ल्याउन बन्द गर्ने भन्ने निर्णय गरेपनि त्यसको अबज्ञा गरेकाले सिल गर्नु परेको बताए ।
उनले गाडी चालकबाट पनि संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर यस्तो कदम उठाइएको समेत बताए । हरेक दिन तरकारी बजारमा ५ वटासम्म भारतिय गाडीले तरकारी ल्याउने गरेका छन् । तरकारी बजार ३ दिन सम्मका लागि बन्द गरिने छ ।
यसैविच भारतिय तरकारी र फलफुल बिक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज फ्रुट हाउसका सञ्चालकलाई कारवाही गरिने भएको छ । सञ्चालक दुबैलाई संक्रमणको आशंकामा तुलसीपुरको क्वारेन्टाइनमा लगिएको जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए । त्यसैगरी भारतबाट अबैध ढँगले तरकारी ल्याउने गाडी चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।