दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द्र प्रसाद रिजालले कविता मार्फत यसरी मनको भाव ब्यक्त गरेका छन् । उनले भनेका छन्
मलाई अचेल मान्छे सगं डर लाग्छ ।’
मलाई अचेल मान्छेसंग डर लाग्छ,
अर्थात मुकुण्डो लगाएका मान्छेसंग ।
परिचित पनि , परिचित जस्ता छैनन् ।
आफन्त पनि , वैरी जस्ता देखिन्छन् ।
सबका सब छद्म, भेषमा हिड्न थालेपछि
साच्चै मलाई मान्छेदेखी डर लाग्छ ।
बरू बाघ भेटिए , यसो भलाकुसारी हुन्थ्यो ।
क्षेम कुशल सोधिन्थ्यो, हात्ती भेटिए नि संगै लम्किनु हुन्थ्यो ।
गन्तव्यमा सर्प, बिच्छि, बारूलो जे भेटिए पनि हुन्छ,
तर मान्छे नभेटिए हुन्थ्यो ।
किनकि अचेल मलाई मान्छेसंग डर लाग्छ ।
होईन कहिलेसम्म हेर्न पर्ने हो, नाक मुख नभएका
मान्छेहरू, अनुहार नभएका मान्छेहरू, एउटा सग्लो मान्छे
भेट्न पनि कति दिन, महिना वर्ष कुर्नुपर्ने हो ।
अनुहार नभएका मान्छेहरू मात्र देखेर होला , सत्य मरिजाऊ
अचेल मलाई मान्छेसंग डर लाग्छ ।
अनुहार नभएका मान्छेहरू, काल हुन कि यमराज हुन् ।
किटाणु हुन् कि भाईरस हुन्, शत्रु हुन् कि मित्र हुन् ।
कसरी छुट्टयाउनु र यिनै नाङ्गो आँखाको प्रयोगशालाबाट ।
त्यसैले मुकुण्डोधारी मान्छेहरू, काल जस्तै देखिन्छन्
किटाणु जस्तै देखिन्छन् , जिउँदा भाईरस जस्तै देखिन्छन्
मान्छेसँगको विश्वास टुटेपछि धरोधर्म
अचेल मलाई मान्छेसंग डर लाग्छ ।
त्यसैले त, म पनि गुमनाम छु, अचेल गुप्तवासमा छु,
यस्तो लाग्छ , बरू एउटा भुत भेटियोस, एउटा राक्षस भेटियोस,
ठिकै छ, तर मान्छे नभेटियोस किनकि रामो राम
अचेल मलाई मान्छेसंग डर लाग्छ ।