कमिरेचौर, ३० चैत : दाङको बंगलाचुली गाउँपालिका जनप्रतिनिधिहरुले कोरोना महामारीबाट जनतालाई बचाउनका लागि आर्थिक तथा खाद्यान्न सहयोग गर्ने निर्णय गरेका छन् ।जनप्रतिनिधिहरुले देशभर भएको लकडाउनको समयमा जनतालाई खाद्यान्न संकट हुन नदिन थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले सबैले सहयोग गर्ने निर्णय गरेका हुन् ।
आईतबार बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आह्वान गरेको आपतकालिन सर्वपक्षिय भेलाबाट गाउँपालिकामा कुनै पनि खाद्यान्न संकट हुन नदिनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
यसै अवसरमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष ,वडाका अध्यक्षहरु,कार्यक्रमका सहभागीहरुले गाउँपालिकालाई सहयोगको स्वःघोषणा गरेको छन् ।
जसअनुसार बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले १० क्वीन्टल चामल,उपाध्यक्ष यमुना थापामगरले ५ क्विन्टल चामल,वडा नं.१ का अध्यक्ष पदम बहादुर खत्रीले १५ हजार नगद,२ का अध्यक्ष मेघ बहादुर रानाले २० हजार,३ का अध्यक्ष शोभाराज विश्वकर्माले २५ हजार सहयोग गर्ने जनाए । त्यसैगरी वडा नं. ५ का अध्यक्ष यनुराज खत्रीले २० हजार र वडा नं. ६ का अध्यक्ष वेदुलाल घर्ती क्षेत्रीले १५ हजार सहयोग गर्ने बताएका छन् ।उनीहरुले बंगलाचुली गाउँपालिकाले स्थापना गरेको खाद्य बैँक तथा प्रकोप व्यवस्थापन कोषमा मा खाद्यान्न तथा रकम जम्मा गर्ने बताए ।
त्यसैगरी बंगलाचुली गाउँपालिकामा क्रियासिल विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पनि सहयोग गर्ने घोषणा गरेका छन् । गाउँपालिकालाई नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष डोमाकान्त कवर मगरले ५ हजार ,नेपाली काङ्ग्रेसका बंगलाचुली सभापति जागेश्वर अधिकारीले ५ हजार , दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखा अध्य रुक प्रसाद पुलामीले १० हजार र नेपाल रेडक्रस बंगलाचुली उपशाखा सभापति चुरामणी नेपालीले एक मुरी जौँ सहयोग गर्ने जनाएका छन् ।
यसैविच यस विपदको समयमा सहयोग गर्न चाहाना जो कसैले गाउँपालिकामा सम्पर्क गरेर सहयोग गर्न सकिने बताईएको छ । आर्थिक सहयोग गर्न चाहानेहरुका लागि सिटसजन्स् बैंक ईन्टरनेस्नल लिमिटेड बंगलुचली शाखामा रहेको खाता नं. ०६७०१०००००३९०२०१ मा सहयोग रकम जम्ममा गर्न सकिने छ ।भने खाद्यन्न तथा अन्य सहयोग गर्न चाहानेहरुका लागि ९८४९१८१३७८, ९८५७८३५२०९ र ९८५७८३५५५२ मा सम्पर्क गर्न समेत अपिल गरिएको छ ।