तुलसीपुर, २७ चैत : दाङको तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई घरमै गई स्वास्थ्य चेकजाँच गर्नुको साथै अण्डा वितरण गर्न शुरु गरेको छ । लकडाउनको अवधिमा सुत्केरी भएकाहरुलाई घर मै गई पोषणका लागि अण्डा वितरण गर्न शुरु गरेको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।
सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यस्तो कार्यक्रम अगाडि बढाइएको उनले बताए । उनले १९ वटै वडामा यो अवधिमा सुत्केरी भएका सबैलाई एक क्यारेट अण्डा वितरण गरिने पनि बताए ।
तुलसीपुुर उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरी भत्ता समेत वितरण गर्दै आएको छ । सुत्केरी भत्ता वितरण मार्फत अनिवार्य रुपमा स्वास्थ्य चेकजाँच गर्ने वानीको विकास गरेपछि गतवर्ष उपमहानगरपालिका भित्र मातृशिशु मृत्युदर शुन्य भएको पनि नगरप्रमुख पाण्डेले बताए ।
उपमहानगरपालिका भित्रका १९ वटै वडामा स्वास्थ्यकर्मी मार्फत अण्डा वितरणको काम अगाडि बढेको जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए । उनले सबै वडामा गरेर १ सय जति सुत्केरी भएको समेत बताए ।
स्वास्थ्यकर्मी मार्फत एक साता भित्र सबै सुत्केरीहरुलाई अण्डा वितरण गरिने भएको पनि उनले बताए । पहिलो पटक वडा नम्वर ४,७ र ११ मा वितरण गरियो अरुमा पनि तत्काल वितरण गरिने उनले बताए ।
त्यसैगरी सुत्केरीको स्वास्थ्य परिक्षण गर्नुका साथै साबुन समेत दिइएको उनले बताए । लकडाउनको समयमा सुत्केरी बाहिर ननिस्कने भएकाले स्वास्थ्य जाँच पनि गरेका छौ, उनले भने । घरमै स्वास्थ्य जाँच हुनुका साथै अण्डा पनि उपहारमा पाएपछि सुत्केरीहरुले खुसी व्यक्त गरेका छन् ।
वडा नम्वर ७ की लक्ष्मी केसीले घरमै आएर उपचार गर्नुका साथै अण्डा र सावुन समेत पाएपछि खुसी लागेको बताईन् । हामीलाई निकै खुसी लागेको छ वच्चा र आफ्नो स्वास्थ्य पनि जँचाउन पाइयो अनि अण्डा पनि पाउँदा ,उनले भनिन् ।