दाङका बजारमा लकडाउन पालन भएन तुलसीपुर र घोराहीमा भिडभाड धेरै

Author Logo..
२०७७ बैशाख १६ गते मङ्गलवार

दाङ, तुलसीपुर उपमहानगरपालिकाका बैकहरुमा हिजोआज ज्येष्ठ नागरिकको बाक्लै भिड देखिन्छ । सरकारले कोरोना संक्रमणलाई मध्यनजर गरेर लकडाउनको घोषणा गरेको भएपनि बैकको गेटदेखि बाटोसम्म ज्येष्ठ नागरिकहरु लामबद्ध भएको देखिन्छ । कोरोना संक्रमणका लागि सबैभन्दा जोखिम बर्ग मानिने ज्येष्ठ नागरिकहरु यसरी भिडमा देखिदा संक्रमणको डर थप फैलिएको छ ।


कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयमा पनि तुलसीपुरमा सामाजिक सुरक्षाभत्ता लिन घण्टौ लाईन लाग्नु पर्ने अबस्था रहेको छ । यति बेला बैंकहरुमा भत्ता लिन नागरिकहरु घँुईचो लाग्ने गरेका छन् । सामाजिक दुरी पालना गर्न सरकारले निर्देशन गरेको भएपनि सामाजिक दुरी पनि कायम हुन सकेको छैन् । तुलसीपुर १ की लिला कुमारी नेपालीले लकडाउनको समयमा भत्ता पाउँदा खुशी लागेको बताईन् ।

‘ कात्तिक देखी पाएको थियौँ, कतै लकडाउन हुदाँ नपाईने हो की भन्ने डर थियौँ, पायौं खुशी लाग्यो,’उनले भनिन् ,‘ अब केही राहत हुन्छ । त्यसैगरी तुलसीपुर १ भमकेका खगराज पौडेलले भत्ता लिन आउँदा बैंकमा सामाजिक दुरी कायम नभएको बताए । बैंकमा धेरै भिडभाड देखेर आफ्नो कागज बुझाएर, टाढा बसेको समेत बताए । ‘बैंक बाहिर सामाजिक दुरी कायम भएको देखिएन्, सबै एक ठाउँमा बसेका छन्,’ उनले भने ,‘ यस्तो भिडभाडले गर्दा कोरोनाको जोखिम हुन्छ, त्यसैले हामीलाई वडाबाट नै ब्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो ।’

त्यसैगरी अर्का तुलसीपुर १ कै मनिराम भण्डारीले लकडाउनको बेला भत्ता लिन आउँदा समस्या भएको बताए । पहिले भत्ता आउँदा गाडीमा आउने गाडिमा जाने भएता पनि अहिले बन्दले गर्दा समस्या भएको उनको भनाई थियो । ‘कोरोनाको त्रास छ, बैंक धेरै भिडभाड छ,’ उनले भने ,‘ कि हामीलाई अहिले वडाबाट नै दिनु पर्दथ्यो,कि भने बैंकमा एक एक जना जाने ब्यवस्था गर्नु पर्दथ्यो ।’

यता तुलसीपुर उपमहानगरपालिकाले सामाजिक सुरक्षाको भत्ता बुझ्नेहरुलाई लकडाउनमा आर्थिक समस्या नपरोस् भनेर खातामा पैसा हाल्न पठाएको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले बताए । उनले अफ्ठेरोमा परेकाले पैसा लिन सकुन भनेर यस्तो गरिए पनि सबैले झिक्न खोज्दा समस्या आएको यस्तो समस्या आएको उनले बताए । उनले बिभिन्न बैकमा भएको भिडको अवलोकनका क्रममा वित्तिय साक्षरताकै कमी देखिएको बताए ।

‘उनीहरुको खातामा पैसा जान्छ र त्यो घरमा आफुसँग राखेभन्दा पनि सुरक्षित हो भन्ने ज्ञान दिलाउनु आवश्यक छ,’ उनले भने,‘ ज्येष्ठ नागरिकलाई घरमा पनि जान्नेले सचेत बनाएको देखिएन् । त्यसैगरी घोराहीमा लकडाउनको समयमा दिउँसो अत्यावश्यक पसल खोल्दा बजारमा भिडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय दाङले पुनः विहान पसल खोल्ने गरी व्यवस्था मिलाएको छ ।

सोमबार मात्रै घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय दाङले मंगलबारदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रशासनको निर्णय अनुसार मंगलबार दिउँसो अत्यावश्यक सामन खरिदका लागि मानिसहरु बजारमा निस्किएपछि भिडभाड भएको थियो ।

दिउँसोमा भिडभाड बढि भएर गुनासो आएपछि पुन ः विहानै पसल सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए ।

‘विहानभन्दा दिउँसो सहज होला भनेर आजदेखि दिउँसो पसल खोल्ने व्यवस्था मिलाएका थियौं,’ उनले भने ,‘तर बजारमा दिउँसो झनै भिडभाड देखिएपछि विहानकै समय उपयुक्त हुने देखियो ।’ जस अनुसार अव पुरानै तालिका अनुसार आइतवार, मंगलवार र शुक्रवार विहान ६ देखी ९ बजे सम्म पसलहरु सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार