• २०७७ कार्तिक ६ गते बिहिवार

प्रकृतिको पुकार (The call of Nature)

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ८ गते सोमवार

ब्रह्माकुमार माधव तिमिल्सेना



प्रकृती एक जटिल संरचना हो । प्रकृती,वातावरण र मानव वीचमा अन्योन्याश्रित सम्वन्ध रहेको छ । प्रकृति र मानव एक रथका दुई पाङग्रा जस्तै हुन । तसर्थ,प्रकृति विनाको मानव जीवन कल्पना गर्न सकिदैन । अतः यिनीहरुको उचित सम्वन्धले मानव सभ्यतालाई दीर्घायू प्रदान गर्दछ । हाम्रा आपसका प्राकृतिक र मानव निर्मित भौतिक,सामाजिक र सांस्कृतिक संरचनाहरु हाम्रा वातावरण हुन ।

जस अन्तरगत पृथ्वीमा रहेका जलमण्डल,वायुमण्डल र भूमण्डलको साथ अन्तरसम्वन्ध हो । मानिसको नभएर कुनै अलौकिक शक्तिको कृतिलाई नै प्रकृति मान्नु सजिलो हुन्छ । त्यस अर्थमा पाँच तत्व जल, स्थल, वायु, आकाश र तेज प्रकृतिका निर्जीव तत्व हुन् र तिनका आधारमा बाँचेका प्राणधारी जीव जीवित प्राकृतिक तत्व हुन् । पृथ्वी आफ्नो अक्षमा घुम्दछ र संसारमा दिन–रातको क्रम चल्दछ । स्वयं पृथ्वी आफ्नै कक्षमा पनि घुम्दछ, जसले ऋतुचक्र निर्माण गर्दछ ।

आध्यात्मिक अर्थमा भन्ने हो भने अनित्य जीवनको नित्य चक्र नै प्रकृति हो भन्ने बुझिन आउँछ । पिउने पानी, सास फेर्ने हावा, बस्ने वासस्थान, ताप्ने घाम एवं अन्तरिक्ष समेत मानव अतिक्रमण र वातावरणीय प्रदूषणबाट मुक्त छैनन् । हाम्रा दर्शन र शास्त्रहरूले त प्रकृति, नदीनाला, पर्वत, वन, वृक्ष एवं पशुपक्षी, भूमिलाई पुज्न सिकाएको छ, प्रदूषण गर्न होइन । अर्थात यस संसारका हरेकलाई सम्मान गर्नु भनिएको हो । बुझौं,हाम्रो शक्ति र सामथ्र्यको स्रोत पनि प्रकृति हो पीपलको प्रकृति त्यसले दिने छहारी मात्र हैन, हामीले सास फेर्ने वायु शुद्ध गर्ने पनि हो । वृक्षभरि चराचुरुङ्गी, कीट–पतङ्गलाई आश्रय दिन पनि हो । जराले जमीनलाई जकडेर सुरक्षा पनि गर्नु हो । वृक्षको प्रकृति वर्णन गरिसाध्य छैन । यत्ति भनौं कि– मान्छेलाई बुद्ध बनाउने प्राकृतिक वातावरण वृक्षले नै सिर्जेको हो ।

नदीको प्रकृति स्वच्छ, शुद्ध र स्वस्थ पानीको आपूर्ति गर्ने हो । समयले सबैलाई परिवर्तन गर्छ । हामी प्रकृतिको चक्रीय प्रणालीभित्र जीवन दर्शन भेट्छौं । हिजोआज अधिकांश मानिसहरू आफ्नो जाँगरिलो,उत्पादनशील र प्रजननशील अवस्था पछिको विश्रान्ति जीवन प्रकृतितिरै फर्कने प्रवृत्ति मौलाउँदोछ । पर्या–पर्यटनको वर्तमान अवधारणाहरू प्रकृतितिर पुनरावृत्त हुने मानव चाहनाको द्योतक पनि हो ।

प्रकृति संरक्षण आदर्श मात्र होइन आर्थिक स्रोत पनि हो भन्ने मान्यता स्थापित भइसकेको छ । नेपाली दर्शन र ज्ञान–विज्ञानको उद्गमस्थलहरू प्रकृतिकै काखमा छन् । हामी सबैका चाडपर्व सूर्य, चन्द्र, ग्रहगण, ताराका हिसाबले चल्ने गर्दछ । प्रकृति अनुरूपको संस्कृति र संस्कार हाम्रो साझा धर्म हो ।


भौतिक विज्ञान र विकासको असन्तुलित प्रयोगले रुख विरुवा र जीव जन्तुहरु लोकोन्मुख अवस्थामा पुगेका छन् । वैज्ञानिक चमत्कार र मानवीय उन्नतीभित्र पकृतिको विनास समेटिनु हुदैन । सवैले दीर्घकालीन सोच वनाएर प्रकृति संरक्षण र सन्तुलन कायम राख्नु नै मानिस स्वयं संकटमुक्त हुनु हो ।

हामीले विकासको नाममा प्रकृतिले अमूल्य वरदान स्वरुप दिएका असीमित स्रोत र साधनहरुको अनियन्त्रित रुपमा आपूm अनुकूल प्रयोग,उपयोग र कब्जा गर्दै आयौं । हामी सबै एउटै पृथ्वीका सन्तान हौं भन्ने ‘वसुधैवकुटुम्बकम्’ आदर्श नमान्ने हो भने पृथ्वीको तापमान बढेर सबै जलवायु परिवर्तनको प्रकोपमा होमिन्छौं ।

हामी नेपालीले बुझ्नुपर्छ– प्राकृतिक एवं सांस्कृतिक विविधतामा मौलाएको हाम्रो बहुजातीय एवं बहुभाषिक सहअस्तित्व र सहिष्णुताको कडीलाई फगत आर्थिक वा राजनीतिक स्वार्थले बिथोल्नु आत्मघाती हुनेछ । हाम्रा विगत र परम्पराले स्थापित गराएका गौरव र सबल पक्षमा टेकेर नयाँ फड्को मार्नु नै आजको माग हो ।

प्रकृति आफैँ एक नियम हो । प्राकृतिक स्रोत र साधनहरु आफ्नै नियममा चलिरहेका हुन्छन् । मानिसमा भएको विवेकले नै मानिसलाई घमण्डी, लोभी, स्वार्थी र महत्वाकांक्षी बनाएको छ । मानिसमात्रै त्यस्तो जीव हो जसले प्राकृतिक नियमलाई नजरअन्दाज गर्दै आएको छ ।

अरु जीवजन्तुको भागमा परेको जन्मसिद्ध अधिकार खोस्दै आएको छ । मानिसले कब्जा नगरेको ठाउँ कहाँ नै बाँकी होला र अब ! वनजंगल, जलस्रोत, वायुमण्डल, अरु ग्रह र उपग्रह पनि । अब मान्छेको लालचको केही सीमा रहेन । आफू बसेको पृथ्वीलाई नै सुन्दर बनाउनु त कता हो कता, अरु ग्रह तथा उपग्रहहरुलाई समेत कसरी प्रदूषित बनाउने भन्ने दाउपेचमा लागिपरेका छन् ।

मान्नुहोस् या नमान्नुहोस् यस पृथ्वीमा रहेका हरेक जीव जन्तु,वनस्पति या निर्जीव वस्तुहरु एकअर्काका परिपूरक हुन् । यस पृथ्वीलाई सन्तुलित राख्न सबैको उत्तिकै महत्वपूर्ण योगदान रहेको हुन्छ ।

हावा,पानी,खाना,ताप, प्रकाश,वनजंगल,ढुंगा,माटो हाम्रो लागि त्यतिकै आवश्यक छन् । केबल प्रकृतिबाट लिने तर पर्यावरणको सन्तुलनको लागि आफ्नो तर्फबाट केही योगदान नदिने,अझ आवश्यकता भन्दा बढी प्रकृतिबाट लिने वा लिने इच्छा राख्ने मानवका विपरित एवं नकारात्मक प्रवृत्तिका कारण आज मानवको प्रकृतिसँगको सद्भाव खलबलिएको छ ।


हामी मानव आत्माको प्रकृतिका पाँचै तत्वसँग निकटम् सम्बन्ध छ । प्रकृतिको साथ बिनाको जीवनको अस्तित्व रहदैन । सृष्टिको आदिकालदेखि नै प्रकृतिले आत्माको सहयोगीको रुपमा भूमिका खेल्दै आएको छ । प्रकृतिले मानवलाई निष्काम सेवा गरेको कुरा हामीले नजरअन्दाज गर्न मिल्दैन ।

प्रकृतिले निःशुल्क र निस्वार्थ रुपमा आफ्ना सबै सम्पत्तिहरुलाई मानवमा समर्पण गरेको छ।प्रकृतिले हामीले ग्रहण गर्ने फल,फूल,अन्न सागपात लगायतका सबै चिजहरु बापत कुनैपनि मूल्य लिएको हुँदैन। आफ्नो अन्तिम अवस्थासम्म पनि केही न केही दिएकै हुन्छ । त्यसैले प्रकृतिलाई मानवले देवताको नामाकरण गरी पूजाआजा गर्न शुरु गर्यो ।

यद्यपि प्रकृतिको पनि आफ्नै कायदा छ,जसलाई प्राकृतिक नियम भनिन्छ । केबल प्रकृतिबाट लिने त र पर्यावरणको सन्तुलनको लागि आफ्नो तर्फबाट केही योगदान नदिने,अझ आवश्यकता भन्दा बढी प्रकृतिबाट लिने वा लिने इच्छा राख्ने मानवका विपरीत एवं नकारात्मक प्रवृत्तिका कारण आज मानवको प्रकृतिसँगको सद्भाव खलबलिएको छ ।

अर्थात् मानवले प्रकृतिको निरन्तर प्रयोग गर्दा दुरुपयोग गरिरहेकोछ । अर्को शब्दमा मानवले गरेको विभिन्न किसिमका प्राकृतिक प्रदुषणहरु तथा प्रकृति माथिको निरन्तर शोषणले मानव प्रकृतिको ऋणी बन्दै गएको छ । तसर्थ प्रकृतिले पनि विभिन्न प्राकृतिक विपत्तिहरुको माध्यमबाट मानव सँगको ऋण चुक्ता गर्दछ ।

बाढी,पहिरो,आँधी,तुफान,भुकम्प,ज्वालामुखी,सुनामी एवं महामारी लगायतका प्राकृतिक विपत्तिमा परी जो अभाव,शोक, तनाव,पीडा,दर्द महसुस हुन्छ, ती सबै कर्मफल नै हुन् ।

प्राकृतिक नियम उल्लंघन गरेबापतको सजायँ भोग्नु पनि उत्तिकै अवश्यमभावी हुन्छ । यसर्थ माध्यम अलग अलग भएपनि मानवले आफूले गरेको कर्मको भोगाइको अनुभव एउटै हुन्छ । यसर्थ कारण आफ्नै कर्मलाई निश्चय गरी अरुमाथि दोषारोपणको संस्कारलाई समाप्त गर्दै निरन्तर सत्कर्मको श्रृंखलामा रही परमपिता परमात्माको याद गरी विकर्मको खाता बन्द गर्नु नै सम्पूर्ण मानवको लागि परमात्माको सन्देश हो ।


भनिन्छ विपत्तिले मानिसलाई बलियो बनाउँछ तथा अति संकटको घडीले महापुरुषलाई जन्म दिन्छ । यस सोचबाट विपत्तिमा भएको नोक्सान भित्र ठूलो लाभ र नवीनताको उदय हुने सत्य कुरालाई ग्रहण गर्न सकिन्छ । अनेक प्रकारका चुनौती, ठक्कर र प्रहारले मानिसलाई गुणवान र पूज्य समेत बनाउन सक्दछ । एउटा पहाडको चुचुरोतिर रहेको अनेक कोणवाला खस्रो ढुंगा नदीमा बग्न जादा हजारौं ठक्कर खादै, ठोकिदै एक चिप्लो र शालिग्राम बन्न पुग्दछ । जसलाई आस्थावान मानिसहरूले श्रद्धाका साथ पुज्ने गर्दछन् । पहाडमा रहेको खस्रो ढुंगाको खासै मूल्य थिएन तर अनेक बल्ड्याङ्ग र धक्का खादा पूजनीय शालीग्राम बन्न पुग्यो ।

अतः जीवनमा विविध प्रकारका समस्यारूपी घटनाहरू मानिसलाई खार्न,तिखार्न र सहनशील,देवपुरुष बनाउनका लागि आउने गर्दछन् । यस हिसाबले जीवनमा आइपर्ने समस्या र विपतलाई स्वीकार गर्नाले मानिस आन्तरिक रूपमा सशक्त एवं सुदृढ बन्न पुग्दछ जसबाट व्यक्ति दुःखद भन्दा दुःखद घडीका बीच पनि विचलन र बेचैन हुन सक्दैन । उसमा जागृत भएको आत्मबल जस्तोसुकै जटिल परिस्थितिलाई पनि सामना गर्न सक्षम हुन्छ ।

उसमा आत्तिने,भयभीत हुने वा अशान्त हुने आदि जस्ता कमजोरीहरू हुँदैनन् । यद्यपि उसलाई सबै प्रकारका परिस्थितिसँग मानवले जीवन जिउने क्रममा केही असहज महसुस गरेमा वरिपरि रहेका बोटबिरूवाहरुमात्रै बाट पनि धेरै ठूलो प्रेरणा र जीवन जिउनुका आधारहरु फेला पार्न सक्दछ । मान्छेलाई दिक्दारी लागेको अवस्थामा एकान्त चाहिन्छ ।

वास्तवमा त्यो एकान्त होइन, मात्र प्रकृतिको साथ हो जसले मान्छेलाई चुस्त,दुरूस्त र फूर्तिलो बनाउन मद्दत गर्दछ । उदाहरणका लागि हामीलाई केही काम गर्दै जाँदा असफलता मिल्यो भने अरु केही पनि गर्न जाँगर नै चल्दैन । साधारणतया सबैले भन्ने गरेको सुनिन्छ ‘जीवन एक चुनौती हो’ ‘जीवन एक संघर्ष हो’ ।

तर वर्तमान परिप्रेक्ष्यमा संक्रामक रोगसरी बढ्दै गरेको मानसिक तनाव,दुःख,अशान्ति एवं सामाजिक तथा प्राकृतिक विपत्तिहरुले मानव मष्तिकलाई घचघचाइरहेको छ । उपरोक्त उक्ति अनुसार सूक्ष्म जीवनप्रतिको मर्मलाई नियाल्दा हामीले नयाँ दृष्टिकोण र शैली अपनाउनु पर्ने देखिन्छ । विश्वमा भर्खरै घटित हृदय विदारक महाविनासकारी महामारीले हामीलाई गम्भीर पाठ सिकाएको छ । अब हामी बदलिनु पर्दछ ।

आफ्नो तथा सबैको मनोबलको लागि अगाडि बढ्नुछ । किनकि जीवनमा विपत्ति नै नआओस् वा समस्या तथा चुनौतीमुक्त बन्न सकौं भन्नु हाम्रो आशा मात्र हो । वास्तवमा जीवन सुख र दुख, घाम र पानी, स्वतन्त्रता र बन्धन, सहजता र कठिनाई,शान्ति र क्रोध अनि प्रकाश र अन्धकारको अनौठो स–मिश्रण हो । यो नै जीवनको अपरिहार्य सिद्धान्त हो ।
मानव प्रकृतिको उपज हो । प्रकृति र आत्माको सामञ्जस्यबाट जीव जगत् बनेको छ । चराचर जीवजगत्मा पनि यस संसारलाई मानव जगत्को नै संज्ञान दिइन्छ किनकि जीवजगत मध्येको सर्वश्रेष्ठ प्राणीको रूपमा मानव उभिएको छ ।

आत्मा र प्रकृतिको सामञ्जस्यबाट मानवले यस संसारमा जीवनको शुरुवात गर्दछ । अन्तत प्रकृतिको सौगातलाई प्रकृतिमै सुम्पिएर मानव आत्मा संसारबाट बिदा हुन्छ । करोडौं प्रजातिका जीवहरू संसारमा विद्यमान हुँदाहुँदै पनि यस संसारलाई मानव संसारको संज्ञा दिंदा हामीलाई जिज्ञासा उत्पन्न हुन्छ त्यो पनि स्वाभाविक नै हो तर वास्तविक यथार्थलाई यदि कोट्याउने हो भने यो भनाइ सही नै लाग्दछ किनकि मानवले नै यस संसारका जीवजगत्लाई चलाएको छ । त्यसैले प्रकृतिको परिवतनले दिने लाभ र हानीको महसुस अधिकतर मानवले नै गर्दछ ।

सांसारको भौगोलिक इतिहासलाई एकपटक फर्केर नियाल्ने हो भने मानव जगत् र प्रकृतिको शुरुवात कहिले भयो भन्ने कुरामा वैज्ञानिकहरूले लाखौं खोज र अनुसन्धानहरू गरी अनेकौं तर्क–वितर्कहरू संसारका अगाडी प्रस्तुत गरेता पनि यसको वास्तविक कुरालाई कसैले पनि प्रस्ट्याउन सकेको छैन किनकि संसारका तीन सत्ताहरूलाई अविनाशी सत्ताको रूपमा लिइएको छ । आत्मा, परमात्मा र प्रकृति ।

त्यसमध्ये पनि आत्मा र प्रकृति सत्ताको लागि भने परिवर्तनको चक्र निश्चित नै छ । संसारका हरेक चीजहरू परिवर्तनका चक्रमा घुम्ने गर्दछन् । जसरी मानवपनि यस जगत्मा जन्म लिन्छ क्रमश युवा, गृहस्थ र वृद्ध हुँदै आखिर एक दिन संसारबाट बिदा हुन्छ तर प्रकृतिका पिण्डहरूलाई लिएर संसारमा खेल खेल्ने आत्माको भने न नाश हुन्छ, न यसको रूप र आकारमा परिवर्तन नै ।

तर अचम्मको कुरा आत्माको गुण र शक्तिमा भने निरन्तर रूपमा क्षीणता आउँदै जान्छ । साथ–साथ जति जति मानव आत्माको गुण र शक्तिमा क्षीणता आउँदै जान्छ क्रमश प्रकृतिको स्वरूपमा पनि त्यसै अनुसारको परिवर्तन आउँदै जान्छ किनकि हाम्रो हरेक संकल्प र कर्महरूको प्रभाव प्रकृतिमा निरन्तर रूपमा पर्दछ । यस संसारको इतिहासको प्रथम अवस्थाको आधा भाग २५०० वर्ष सम्म प्रकृति आफ्नो सतोप्रधान अवस्थामा विद्यमान थियो किनकि त्यस समयमा हरेक मानव आत्माहरू आफ्नो सर्वोत्तम सतोप्रधान अवस्थामा थिए ।

प्रकृतिका पाँचै तत्वहरू (जल, वायु ताप, आकाश र जमीन ) मानवका दासी थिए । तर वर्तमान समयमा यही प्रकृतिका पनि मानव दासी भए । मानव प्राकतिक विपत्तिको शिकार बन्दै आएको छ । कहिले बाढी, कहिले भूकम्प, कहिले आँधि बेहरी त कहिले आगलागी । साथसाथै समय प्रतिसमय हामीले प्राकृतिक अस्थिरताको बारेमा सुन्दै आएका छौ । यी प्रकोप र प्राकृतिक अस्थिरताहरूको कारणहरूलाई खोजी गर्दा मानवले प्रकृतिप्रति गरेको दुव्र्यवहार नै देखिन्छ ।

जुन गलत कर्महरू मानव आत्माले आफ्नो तमोप्रधान अवस्थामा गर्दछ । हुनत नियतिको खेललाई कसैले टार्न सक्दैन तर नियतिले निम्त्याएको खेललाई हर कोहीले चाहेर पनि नचाहेर पनि खेल्नै पर्दछ र त्यो पीडालाई झेल्नै पर्छ । मानवले आफ्नो विवेक र बुद्धिको प्रयाग गरी हरेक चीजको स्वरूपलाई परिवर्तन गर्दै आयो ।

आफ्नै बुद्धिको प्रयोग गरेर आफू चरा जस्तै आकाशमा उड्यो, जमीनमा गुड्यो समुद्रको गहिराइ र तैराइ दुवैको अनुभव पनि भयो । भौतिकतामा मात्र मानव सीमित रहेन उसले समृद्धिकै लागि एक अर्कामा सम्बन्ध पनि जोड्यो र दुःख–सुख सबैको अनुभव ग¥यो र गरायो पनि तर कुदरतको खेलले २ मिनेटमै उसका दुई शताब्दीदेखि बनाएका संरचना सम्बन्ध सबैलाई ध्वस्त पारिदियो ।

त्यसैले नै यस संरचनालाई खेलको संज्ञा दिइएको होला । वर्षौदेखि बनाएका सँगसँगै मानवका सपनाका महलहरू पनि तहसनहस भए । कसैले जीवनका साहारा गुमाए कसैले जीवनभरका लागि मुस्कान गुमाए । ज्यान गुमाउनेले त केवल एक ज्यान गुमाए तर जसले ज्यान बचाए अब ऊ सँग केही रहेन ।

न केही साहारा बच्यो न केही आधार । जसले हजारौंलाई आश्रय दिन्थ्यो ऊ केवल चार बाँसको खम्बा र पातलो पालमुनि अडिएर रहेको छ । यस्ता हजारौं इतिहासहरू हाम्रा अगाडि आजसम्म पनि जीवन्त नै छन् । यदि यी विपत्तिहरूको कारणलाई खोज्ने हो भने हामीले आफ्नो स्वार्थ पूर्तिको लागि प्रकृतिमाथि गरेको दुव्र्यवहार नै स्पष्ट हुन्छ ।


विज्ञान र प्रविधिको माध्यामबाट हामी जे पनि गर्न सक्छौ र हामी एकदमै सुरक्षित छौ भन्ने सोचमा परिवर्तन आएको छ । मानवले अहिलेसम्म जलवायू परिवर्तन,परमाणु युद्ध, कोरोना भाइरस जस्ता अन्य महामारी वा उल्कासँग पृथ्वी ठोकिनसक्ने जस्ता संभावित खतराहरुको सामना गरिरहेको छ । यो शताव्दीको अन्त्यसम्म मानव जातीको विनाश वा अस्तित्व मेटिने त होइन यस चिन्ताले सताउन समेत थालेको छ ।

तिव्रतर रुपमा वढिरहेको जनसंख्या बृद्धि र अनियन्त्रित संशाधनको दोहनसँगै जलवायू परिवर्तनले पनि एक गम्भिर पेचिलो संकट निम्त्याएको छ । यी सवै घटनाको सूत्रधार हामी मानव नै हौं । तसर्थ यस्ता खतराहरुलाई गम्भिर रुपमा लिएर हाम्रो प्राचीनम् सभ्यता अपनाउदै समयमै सचेत वन्न तथा केही सिक्न र परिवर्तन हुन जरुरी छ ।

परिवारसँग जोडिएको सामाजिक तरिका बदल्न आवश्यक छ । हामीलाई चाहिए जति बच्चा जन्माउन र मन लागेको गर्न स्वतन्त्र छौँ भन्ने सोच बदल्न जरुरी छ । जनसङ्ख्या वृद्धि नरोकिएसम्म जलवायु परिवर्तन रोक्नु भनेको असम्भव कुरा हो, परमाणु युद्धका कारण पहिला ठूलो स्तरमा विनाश हुनसक्छ ।

त्यसपछि आर्थिक बाधाहरू अनि अन्तत विश्वव्यापीरूपमा पर्यावरणीय असरहरू पर्नसक्छ । यसरी हामी विश्व विनाश रोक्नलाई आफ्नो भूमिका निभाउन सक्छौं । यो शताब्दी हाम्रो जातिको अन्तिम शताब्दी नहोस् भन्नका लागि हामीले यी खतराहरूलाई गम्भीर रुपमा लिन आवश्यक छ । भविष्य ढुङ्गामा लेखिएको अक्षर होइन । यस्ता धेरै चीज छन् जुन हामी गर्न सक्छौँ र अब हामीले त्यो कदम उठाउने बेला आएको छ । जे कुरापनि जति सैद्घान्तिक रुपमा सहज हुन्छ, व्यवहारिक परिस्थिति त्यो भन्दा संवेदनशील मर्माहित र कठिन हुन्छ ।

हामीले यो भुल्नु हँुदैन कि परिस्थिति आपैmमा समस्या होइन । समस्या त हामीभित्रको दुर्बल मनोबलको उपज हो,जुन त्रास, भय र नकारात्मक धारणाहरु हुन् ।

हामीले प्रकृतिको वा अन्य विपत्तिको निर्मूलीकरण कहिल्यै गर्न सक्दैनौ तर मनोबलको सशक्तिकरण, सकारात्मक सोचद्वारा सहजरुपले सामना र प्रबन्धन गर्न सकिन्छ । यसको लागि हामीले सशक्त र आशावादी भई नेतृत्व गर्न जरुरी छ ।


हामीले प्रकृतिको स्वरूपलाई यस्तो पारिसक्यौं अब भोलिका दिनमा प्रकृतिले झन् ठूलो प्रकोप नित्याउनेवाला छ । त्यसैले अब समय र इतिहासले नै कोल्टो फेर्दै छ । प्रकृतिले आफ्नो सतोप्रधान स्वरूपको माग गर्दैछ । अब यी कुराहरूलाई मनन गर्दै गम्भीर रूपबाट हामीले प्रकृतिप्रति सत् व्यवहार गर्नुपर्ने भएको छ ।

साथ साथै प्रकृतिका प्रति परमात्मा पिताको पनि यही आदेश रहेको छ हे प्रकृतिका मालिक मानव आत्माहरू अब म पतित पावन परमात्माको स्नेहयुक्त याद स्वयं र प्रकृतिलाई सतोप्रधान बनाऊ तब जसरी श्रीकृष्णको चरण चुम्नको लागि यमुना नदी तड्पिएको थियो त्यसैगरी समयको आधा भाग कालखण्ड हामीलाई कुनै पनि प्रकारको प्राकृतिक प्रकोप निम्तिने छैन त्यसैले आऊ हामी सबै मिलेर सतोप्रधान प्रकृतिको निर्माण गरौं ।

सत्ययुगमा प्रकृतिका पाँचै तत्व देवताहरुका लागि सुखका साधन थिए । सूर्यले भोजन,वायूले प्राकृतिक हावा तथा पंखाको काम गर्थे । न त ठण्डी न गर्मी सदावहार मौसमको वातावरण थियो । यो आकाश सवैको साझा राज्यपथ हुन्थ्यो । सुगन्धित जडीबुटीहरुले भरपूर सफा स्वच्छ एवं पवित्र जल जसले दुध जस्तै शक्ति दिन्थे । पृथ्वीले स्वाद अनुसारका श्रेष्ठ फल र उन्नत अन्न दिने सेवा गर्दथे ।

प्राकृतिक फलहरुमा अलग अलग रस हुन्थ्यो। स्वभाविक सुन्दर दृश्य,पंक्षी तथा फूलहरुले यस धरतीमा सजावट थियो । मन तथा शरीर दुवैको कडा परिश्रमको जरुरी नहुने साथै सदैव वहारी मौसम सतोप्रधान प्रकृति मानव सेवामा समर्पित थियो ।

कम जनसंख्या,प्राकृतिक विपत्ती नहुनु,अथाह वैभवले सम्पन्नता थियो । न कुनै विभाजन नत कुनै विभेदरहित दुःखको नामोनिसान नभएको पावन दुनियाँ जसलाई बैकुष्ठ वा स्वर्ग जहाँ कुनै पनि चिजको अप्राप्ति थिएन । हाम्रो सोच,व्यवहार कार्यशैली तथा जीवनशैलीले समयको आव्हानसँगै हामी रुपान्तरित हुदै अव पुनःयस्तै सामजञ्यपूर्ण मनभावन सुष्टिको पुनसंरचना प्रकृतिको पुकार हो ।


लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र,दाङका प्रवक्ता हुन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार