
दाङ , दाङमा पनि प्रहरीले लकडाउन उलंघन गर्दै हिड्नेहरुलाई यन्त्रको प्रयोग गरि नियन्त्रण गर्न थालेको छ । जिल्लामा पहिलो पटक प्रहरीले सोमबार यन्त्रको प्रयोग गरि २३ जनालाई नियन्त्रणमा लिएको हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्न लागु गरिएको लकडाउन अवज्ञा भएपछि दाङमा प्रहरीले २३ जनालाई ‘स्टिकी क्याच’बाट नियन्त्रण लिई अन्यलाई सम्झाई बुझाई छाडेको र सम्झाउँदा पनि अटेरी गर्न १२ जनालाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ति मध्य ८ जना पुरुष र ४ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए । बाटोमा हिडिरहेकाहरु कोरोना भाइरसबाट संक्रमित पनि हुनसक्ने भएकाले सोझै समात्दा प्रहरीमा पनि संक्रमण हुने खतरा रहने भएकाले प्रहरीले आफै बनाएको लट्ठीको सहायताबाट समात्न थालेको प्रहरीले बताएको छ ।
त्यसैगरी सोमबार नै लकडाउन अवज्ञा गरी संचालन गरेका ५७ वटा सवारी साधनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । लकडाउनको समयमा सवारी चलाएको भन्दै प्रहरीले एउटा ट्रक, ५६ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यता तुलसीपुर उपमहानगरपालिकाले २ सय जनालाई लक्षित गरेर क्वारेन्टाइन विस्तार गर्ने भएको छ । वडा नम्वर ४ को रक्षाचौरमा रहेको गुरुजजुर माविमा अहिले ५० वेडको क्वारेन्टाइन सञ्चालन भइरहेको छ ।
नेपाली सेनाले थप ५० वटा वेडका लागि सहयोग गर्ने भएपछि १ सय वेडको क्वरोन्टाइन तत्काल सञ्चालन हुने भएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । यसैविच तुलसीपुरमा रहेको १९ नम्वर वाहिनीका वाहिनीपति सुनिल भण्डारी र नगरप्रमुख पाण्डेले क्वारेन्टाइनको निरिक्षण गरेका थिए ।

निरिक्षणका क्रममा वाहिनीपति भण्डारीले टेन्ट र वेड लगाएतका विभिन्न सामग्री सहयोग गर्ने बताए । सो क्रममा क्वारेन्टाइनमा रहेका सबैसँग त्यहाँको अवस्थाका वारेमा जानकारी समेत लिइएको थियो ।
संक्रमणको अवस्था हेरेर क्वारेन्टाइनमा २ सय सम्मको वेड व्यवस्था गरिने पनि नगरप्रमुख पाण्डेले बताए । क्वारेन्टाइनको निरिक्षण गर्दै नगरप्रमुख पाण्डेले त्यहाँ बस्नेलाई सबै सुविधा उपलब्ध गराउन निर्देशन समेत दिए । अहिले क्वारेन्टाइनमा १३ जना बस्दै आएका छन् ।