सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भइरहेको छ। उक्त तस्बिरमा ग्यास सिलिन्डर बोकेका पुरुषलाई एक जना महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ।
लक डाउनका बेला प्रहरीले नागरिकमाथि नसुहाउने खालको व्यवहार गरेको भन्दै अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ।
आलोचना बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन सुरू गरेको छ।
‘यो कहाँको तस्बिर हो र प्रहरीले किन गरेको हो भन्नेबारे खोज्न थालेका छौं,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने,’अहिले त तस्बिर मात्रै देखेका छौं तर छानबिन पछि के आउँछ त्यही अनुसार कारबाही हुन्छ।’
यसअघि पनि सुनसरी खनारको एक भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओमा प्रहरीले साइकल यात्रुलाई लाठीले हानेको थियो। भिडिओ भाइरल बनेसँगै ती दुई प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिएको थियो।
एसएसपी जोशीले नागरिकमाथि यस्तोखाले व्यवहार नगर्न निर्देशन दिइएको बताए।
‘कुनै ठाँउमा भएका घटनाका आधारमा सबै प्रहरीको मूल्यांकन गर्न मिल्दैन,’ उनले भने,’यसरी लाठी हान्नु भनेर हामीले निर्देशन दिएका छैनौं।’