दाङ, कोरोना भाईरसको उच्च जोखिममा परेपछि सार्वजनिक कार्यक्रममा रोक लागेको छ । सार्वजनिक कार्यक्रमको रोक लागेपछि दाङको होटल व्यवसायमा पनि प्रत्यक्ष असर परेको छ । करोडौ लगानी गरेर खुलेका जिल्लाका ठूला होटल तथा लजहरु अहिले सुनसान बनेका छन ।
अघिल्ला वर्षमा यो समयमा दाङका होटेल लजमा कार्यक्रमको निकै चापाचाप हुने गर्दथ्यो । यस वर्ष होटेल र लजहरु सुनशान छन् । आजभोलि नयाँ बुकिङको सम्भव छैन । बुकिङ भएका सबै कार्यक्रम समेत रद्ध भएका छन् । होटेल क्षेत्र सुनशान भएपछि व्यवसायीहरु होटलको बैंक किस्ता तिर्न समेत गाह्रो भएको बताउँछन् ।
महामारीको त्रासका कारण होटेल व्यवसाय चौपट भएको छ । व्यवसाय नै संकटमा पर्दै गएपछि व्यवसायीहरु कर्मचारी कटौती गर्ने अवस्थामा पुगेका छन् ।
संक्रमणको जोखिमले ठूला व्यवसायलाई मात्रै होइन, साना व्यवसायहरु पनि प्रभावित भएका छन् । मासु, तरकारी, डेरी, खाद्यान्न लगायतका व्यवसायमा पनि ठूलो गिरावट आएको छ । होटेल बजार पनि खस्किएपछि साना व्यवसायीहरु पनि मारमा परेका छन् ।
सरकारी तथ्यांक अनुसार १५ सय बढी होटेल तथा लज रहेका छन् । साना ठूला होटेल सुनशान बन्दै गएका छन् । होटेल व्यवसाय ठप्प हुँदा अर्थतन्त्रसंगै रोजगारीमा समेत समस्या पैदा भएको छ । व्यवसाय नै संकटमा पर्दै गएपछि राज्यले व्यवसाय सुरक्षाको लागि पहल गर्नुपर्ने व्यवसायीहरुको माग छ ।