
तुलसीपुर , तुलसीपुर उपमहानगरपालिका कार्यालयमा कोरोना संक्रमण प्रकोपको उच्च सर्तकता अपनाइएको छ । कार्यालयमा गेटबाट पस्ने वित्तिकै जनप्रतिनिधि, सेवाग्राही लगायतका सबैलाई सावुन पानीले हात धुनुका साथै थर्मल गन बाट ज्वरो चेकजाँच अनिवार्य गरिएको छ । कोरोना संक्रमणको प्रकोप फैलिएसँगै नेपाल सरकारले सतर्कता अपनाउनका लागि सबै निकायहरुलाई निर्देशन दिएको थियो ।
“संक्रमण भन्ने कुरा कहिले र कतिवेला फैलन्छ भन्न नसकिने भएकाले पनि हामीले सतर्कता अपनाएका हौं” नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले अन्य कार्यालयलाई पनि संक्रमणबाट जोगाउनका लागि उपमहानगरपालिकाले सहयोग गर्ने वताए ।
उपमहानगरपालिका कार्यालयमा सेवाग्राही मात्रै नभएर अन्य व्यक्तिले पनि चेकजाँच गर्न सक्ने स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म चेकजाँचका क्रममा कसैमा पनि यस्तो समस्या देखिएको छैन ।
“कसैमा नदेखिए पनि हामीले चेकजाँचलाई निरन्तर अगाडि वढाएको छौ” उनले भने । तुलसीपुरले कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर विभिन्न नाका र विमानस्थलमा कोरोना चेकजाँचलाई कडाइ गरिसकेको छ ।