बाँके , नेपाल–भारत सीमानाका बन्द नभएको बाँके प्रशासनले स्पष्ट पारेको छ। कोरोना भाइरसका कारण भारतले नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला फैलिएपछि बाँके प्रशासनले यस्तो प्रतिक्रिया दिएको हो।
तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको जानकारीमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। उनले नेपालीलाई नभई भारतले तेस्रो मुलुकबाट आउने पर्यटको भिसा रद्द गरेको स्पष्ट पारे। ‘सीमाम नाका बन्द हुने हल्ला मात्र हो,’ उनले भने। भारतको यस्तो निर्णयले नेपाल–भारत सीमानाका पनि बन्द हुने आशंका गरिएको छ। अहिलेसम्म तेस्रो मुलुकका पर्यटकको भिसा भारतले रद्द गरेको जानकारीमा आएको उनको भनाई छ।
नेपाल–भारतनाका शिल गर्ने भारतको आधिकारिक निर्णय अहिलेसम्म नआएको बताउँदै उनले हल्लाको पछि नलाग्न आग्रह गरे। ‘नेपाल–भारतका नागरिकका लागि नभई तेस्रो मुलुकका पर्यटकका लागि भारतले भिसा रद्द गरेको हो,’ प्रजिअ खड्काले भने। भारतले १३ मार्च–१५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गरेको जनाएको छ।
यो निर्णयसँगै १५ अप्रिलसम्म तेस्रो मुलुकका कुनै पनि पर्यटक भारत प्रवेश गर्न नपाउने भएका छन्। कूटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, जागिरे, प्रोजेक्ट भिसा पाएर भारत आउनेलाई भने रोकतोक नगर्ने भएको छ। उसले गैरआवासीय भारतीय कार्ड भएकालाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ।