सबै बालबालिकालाई अनिवार्य खोप लगाउन घोराही उपमहानगरको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २१ गते बुधवार


घोराही, २१ फागुन । घोराही उपमहानगरपालिकाले बालबालिकालाई दादुरा रुबेलाको खोप अनिवार्य लगाउन सबै नगरबासीलाई आग्रह गरेको छ । उपमहानगरको स्वास्थ्य शाखाले आज नगर स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरि फागुन २९ देखी चैत्र ७ गते सम्म ९ महिना देखी ५ बर्ष मुनिका सबै बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाउन आग्रह गरेको हो ।

कार्यक्रममा नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले लक्षित समुहका कुनै पनि बालबालिकालाई खोपबाट बन्चित हुने अबस्था आउन नदिन स्वास्थ्यकर्मी, स्वंयसेविका तथा अभिभाबकहरुलाई आग्रह गरिन्।

रोगबाट बच्न गरिने लगानीमा विषेशगरी अभिभाबकहरु जिम्मेवार र स्वास्थ्यकर्मीहरु उत्तरदायी बनेर अभियानलाई सफल पार्न उनले अपिल गरिन्।
नगरभरीका १६ हजार ७ सय ४२ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने र २० हजार ३ सय २१ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले दादुरा रुबेला अति छिटो सर्ने र महामारी नै लिने रोग भएको भन्दै अनिवार्य खोप लगाउन सबैलाई अपिल गरिन् ।

बालबालिकाको मृत्युको कारण दादुरा पनि एक भएको भन्दै उनले जनप्रतिनिधी, अभिभावक र स्वास्थ्यकर्मीहरु थप चनाखो बन्नुपर्नेमा जोड दिईन् ।

त्यसैगरी, कार्यालयका खोप अधिकृत किशोर आचार्यले व्यक्ति स्वस्थ भए मात्रै देशको सहि गतिमा बिकास हुने भन्दै खोपले विभिन्न प्रकारका रोगबाट बचाउन सकिने उल्लेख गरे । स्वास्थ्य शाखाका ठाकुर खनालले सहजिकरण गरेको कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार