काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीलाई आज बिहान १० बजे मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको थियो । उनको शल्यक्रिया गर्न करिब ५ घण्टा लागेको थियो ।
प्रधानमन्त्री ओलीको प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । यसअघि उनको २०६३ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको थियो ।