घोराही उपमहानगर द्धारा एक सय जनालाई ज्योती प्रदान

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २० गते मङ्गलवार


फागुन २० घोराही । घोराही उपमहानगरपालिकाले एक सय जना व्यक्तिको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरि ज्योती प्रदान गरेको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरका एक सय जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि ज्योती प्रदान गरेको हो । नगरका विभिन्न वडामा आर्थिक अभावका कारण मोतियाविन्दुका कारण दृष्टि कमजोर भएकाहरुलाई शल्यक्रिया गरि ज्योती प्रदान गरिएको हो ।

घोराही उपमहानगरपालिका सँग नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ४५ जना पुरुष र ५५ जना महिलाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । त्यसैविच निःशुल्क शल्यक्रिया गरिएका विरामीहरुलाई निःशुल्क चश्मा तथा औषधी समेत वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, अस्पतालका प्रशासक किरण पौडेल, नेत्ररोग विशेषज्ञ डा. कौशल पोख्रेललगायतले चश्मा तथा औषधी वितरण गरेका थिए ।

त्यस्तै निःशुल्क आँखामा लागेको मोतियाविन्दुको शल्यक्रिया सेवा पाएपछि ज्येष्ठ नागरीकहरु खुसी भएका छन् । उनीहरुले स्थानीय सरकार र अस्पताललाई धन्यावाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार