घोराही, १३ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १४ भित्र पुष्प खेतीलाई व्यवसायीकरुपमै अघि बढाईने भएको छ । हरेक सुभकार्य, उत्सब, दिवस तथा पर्वहरुमा आबस्यक पर्ने पुष्प आफ्नै वडा भित्र उत्पादन गर्ने गरी वडा कार्यालयले प्रर्बद्धन गर्न थालेको हो । वडा भित्र नमूना पुष्पखेती गर्न वडा कार्यालय र कृषि ज्ञान केन्द्रले सहकार्य थालेका छन् । यसैक्रममा सोमबार वडाको लोहासुर टोलमा जलजला पुष्प खेती गर्दै आउनुभएका लोकेन्द्र रोकालाई २ हजार पुष्पका बेर्ना बितरण गरिएको छ ।
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी र लुम्बीनि पुष्प व्यवसायी समितिका अध्यक्ष रमेश पाण्डेले रोकालाई २ हजार बोट पुष्प हस्तान्तरण गरे। साथै आजै ति पुष्पहरु व्यवसायी रोका र नगर प्रमुख चौधरी सहितको टोली रोपण समेत गरका थिए ।
कार्यक्रममा नगर प्रमुख चौधरीले पुष्प खेतीको सम्भावना निकै धेरै रहेको तर खेती गर्ने आँट भने थारैले मात्रै गरेको बताए । अनेक थरिका पुष्पको खेतीबाट मनग्य आम्दानी गर्न सकिने भन्दै उनले व्यवसायमा जोडिन नागरिकहरुलाई आग्रह गरे।
नगरलाई फुलैफुलका नगर बनाउने सोच रहेको भन्दै उनले आयातित खादा र पुष्पलाई बिस्थापन गर्न लागि परेको बताए । कार्यक्रममा पुष्प बिज्ञ रमेश पाण्डेले पुष्पले नगरको सुन्दरता र व्यवसायीको हातमा पैसा हुने अबस्था रहेको बताए ।
पुष्प खेतीका लागि घोराही क्षेत्र उत्तम रहेको भन्दै उनले पुष्प उत्पादनबाटै आर्थीक आयलाई बढाउन सकिने बताए । कार्यक्रमको सहजिकरण वडा सदस्य गुलाम रसुलले गरेका थिए ।