शान्ति प्रकृया सँगै देशको अग्रगामी रुपान्तरणमा गिरीजाको भुमिका उच्च : शंशाक

Author Logo..
२०७६ फाल्गुन १२ गते सोमवार


घोराही , नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गिरीजाप्रसाद कोईरालाको सोच र योगदान अबिस्मरणिय रहेको बताए । सोमबार दाङको घोराहीमा गिरीजाप्रसाद कोइराला फाउण्डेशन दाङले आयोजना गरेको शान्ति प्रक्रियामा कोइरालाको  योगदानको बिषयक बिचार गोष्ठीमा बोल्दै महामन्त्री कोईरालाले शान्ति प्रकृया सँगै देशको अग्रगामी रुपान्तरणमा गिरीजाप्रसाद कोइरालाको भुमिका उच्च समेत बताए ।

फाउण्डेशनका केन्द्रिय अध्यक्ष सुजाता कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा महामन्त्री कोईरालाले शान्ति प्रकृया कायम गर्नमा कोइरालाको भुमिका उच्च रहेको तर बर्तमान सरकारले देशको विकास र नागरिकको न्यायमा भन्दा पनि भ्रष्टाचार तर्फ ध्यान दिएको आरोप लगाए ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा बस्ने नैतिकता हराइसकेको बताए । उनले वर्तमान सरकार र मन्त्रीको दैनिक जसो सार्वजनिक हुने काण्डले प्रधान्मन्त्रीको कुर्सीमा बस्ने नैतिकता हराएको टिप्पनी गरे । कति काण्ड उहाँसँगै छन्, कति अरूसँग भए, उनले भने, यसले पनि ओलीको पदमा बस्ने नैतिकता देखिँदैन ।

उनले विभिन्न काण्डले प्रधानमन्त्री कुर्सीमा बस्ने राजनीतिक र नैतिक कुनै आधार नरहेको बताए । आफ्नै भान्साभित्रको सदस्यको काण्डहरू प्रधानमन्त्रीले थाहा नपाउनु र ढाकछोप गरेर राख्नुले उनी राजनीतिक र नैतिक हिसावले विफल भइसके, उनले भने, एउटा, दुईवटा मात्रै हैन यहाँ त दैनिक नयाँनयाँ काण्ड मच्चिरहेका छन् । ४÷५ दिनकै हेरौँ गोकुल काण्ड, बामदेव काण्ड, संविधान काण्ड, केक काण्ड यसले सबै प्रष्ट पारेको छ ।

थापाले बहुमतको सरकारले संविधान रक्षा गरेर संविधानको कार्यान्वयनमा लाग्नुको साटो संविधानलाई कमजोर बनाउने दृष्टता गरेको बताए । सरकारले संविधान नै संकटमा पर्ने गरी गतिविधि सञ्चालन गरेको उनको भनाई छ । उनले शान्ति निर्माण र अन्तरिक संविधानमा गिरिजाप्रसाद कोइरालाले बनाएका आधार र जगलाई बलियो बनाउनुको साटो बहुमतको सरकारले सिध्याउन लागेको समेत आरोप लगाए ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री दिपक गिरी , चन्द्र भण्डारी , राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, फाउण्डेशनका जिल्ला संयोजक गोविन्द पोख्रेल लगाएतकाले नेताहरुले शान्ति प्रकृयामा गिरीजाप्रसाद कोइरालाको योगदान प्रशंसनिय रहेको बताएक थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार