घोराही, दाङको घोराही उपमहानगरपालिकाले घोराहीको इतिहास झल्काउन गरी २ स्थानमा घोडाको प्रतिमा राखेको छ । यस अगाडी तुलसीपुर चोक भनिदै आएको क्षेत्रमा पनि घोडाको प्रतिमा राखेर घोराही चोक नामाकरण गरिएको उपमहानगरले जनाएको छ । घोराही बजारको मुख्य चोक गुम्राह चोक र घोराही चोकमा घोडाको प्रतिमा स्थापना गरेको हो । घोराही सहरको नाम घोडा शब्दबाट अपभ्रंश भई घोराही रहन गएकाले इतिहासको संरक्षण गर्ने उदेश्यले घोडाको प्रतिमा राखिएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताए ।
नगरकार्यपालिकाको निर्णय अनुसार घोराहीको घोराही चोक र गुम्राहचोकमा घोडाको प्रतिमा राखिएको उनले उनले बताए । त्यसैगरी घोराहीको इतिहास घोडा सँग जोडिएको र त्यसैको चिनारीका लागि बजारमै घोडाको प्रतिमा राखिएको उनले बताए । चोकमा राखिएका घोडाको प्रतिको शनिवार अनाबरण गरिएको छ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोडाको अनाबरण गरेका थिए । । अनाबरण कार्यक्रममा संघिय सांसद सुजिता शाक्य, शान्ता चौधरी, प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भटराई, नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
गुम्राह चोकमा राखिएको घोडाको प्रतिमा २९ लाखमा टेण्डर आह्वान गरिएकोमा २५ लाखमा निर्माण भएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । घोडाहरु पालन गर्ने क्षेत्र बिस्तारै बस्ती विकास सँगै शहरीकरणमा परिणत हुदै गर्दा घोराही नामाकरण भएको पुराना पुस्ताको भनाई छ ।