तुलसीपुर , दाङको बेलझुण्डीमा शनिवारदेखी आयोजना हुन लागेको ‘प्रदेश एक्स्पो २०७६’ को तयारी पुरा भएको छ । प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलबहादुर केसीले भोली शानिवार फागुण १० गते बिहान ११ बजे भब्य समारोहका बिच एक्स्पोको उद्घाटन हुने बताए। उनले शुक्रबार पत्रकार सम्मेलन गरि तयारीको बारेमा जानकारी गराए ।
प्रदेश एक्स्पो शनिवार फागुन १० देखि १२ गतेसम्म आयोजना हुँदैछ । एक्स्पोमा १२ जिल्लाका पहिचान र विशेषता झल्कने कक्ष समावेश गरिने तथा १०९ स्थानीय तहले आफूले गरेका नमूना काम समेत प्रस्तुत गर्ने समेत मन्त्री केसीले बताए ।
एक्स्पोमा सरकारी र निजी क्षेत्रका गरी करिब ५०० कक्ष सहभागी हुने छन् । ‘समृद्ध प्रदेश खुशी जनताको अभियान सफल पारौंँ ’ भन्ने नाराका साथ प्रदेश सरकारले सम्पदान गरेका कार्यहरु, प्रदेशभित्रका नवीनतम प्रविधि र कार्यको जानकारी दिने, योग ध्यान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा खाद्य सामग्रीलगायतको प्रदर्शन गर्ने उद्देश्यले प्रदेश सरकारले एक्स्पोको आयोजना गरेको हो ।
सेवा प्रवाह सम्बन्धी जानकारी मूलक प्रस्तुति, विभिन्न ठाउँका कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय प्रविधि र उत्पादनको प्रदर्शनी, नव प्रवद्र्धधन प्रविधिमा आधारित कक्ष एक्स्पोमा राखिने छ ।