काठमाडौं, २ फागुन । कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । आन्द्राको क्यान्सरबाट एक वर्षदेखि पीडित उपाध्यायको रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवाटमा रहेको निवासमा उहाँको निधन भएको हो । ५० वर्षीय उपाध्यायका श्रीमती ३ छोरा र २ छोरी छन् । उपाध्यायको शुक्रबार नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको रुपन्देही कांग्रेसले जनाएको छ ।
उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित हुनु भएको थियो । उपाध्यायको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल यही फागुन २१ गते सकिँदै थियो ।