कोरोना संक्रमितको उपचारका लागि ३६ अस्पतालका १ सय ४७ बेड तयारी अवस्थामा

Author Logo..
२०७६ माघ २७ गते सोमवार

काठमाडौं, २७ माघ । नोवल कोरोना भाइरसबाट संक्रमण भएका विरामीहरुको उपचारका लागि ३६ अस्पतालका १ सय ४७ बेडहरु तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्ता सागर दाहालले काठमाडौं उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचार गरिने व्यवस्था गरिएको बताए ।

उनले नोवल कोरोना भाइरसको लक्षण फेला परेको पाइएमा सबैभन्दा पहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ललितपुरको पाटन अस्पताललाई तयारी अवस्थामा राखिएको बताए । उनले त्यसपछि उपत्यकामा रहेका ६ वटा हव अस्पताल र अन्य स्याटेलाइट अस्पतालमा व्यवस्था गर्न मंगलबार छलफलका लागि बोलाइएको समेत बताए ।

उनले चीनबाट ल्याउने विद्यार्थीहरुका लागि विशेष प्रोटोकल बनाएर सुरक्षित रुपमा राख्न लागिएको समेत बताए। त्यसका लागि सोमबार इपिडेमियोलोजी एण्ड डिजिज कन्ट्रोल डिभिजनले कर्मचारीहरुलाई विशेष तालिम दिएको उनले बताए । उनले चीनबाट ल्याइएका विद्यार्थीहरुलाई राखिने क्वारेन्टाइनमा खटाइने स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, एम्बुलेन्सका कर्मचारी, एयरपोर्टमा रहने कर्मचारी, जहाजमा रहने कर्मचारी सबैलाई अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिइएको सहप्रबक्ता दाहालले बताए ।

त्यस्तै काठमाडौं उपत्यकामा विरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल महाराजगंज, विर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल हब अस्पताल हुन भने टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवारोग अस्पताल स्याटेलाईट अरुपताल रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार