दाङ, दाङ लगायत १३ जिल्लामा भोली शनिबारदेखि हात्तिपाईले बिरुद्ध औषधि खुवाईने अभियान शुरु हुदैछ । भोली माघ २५ गते देखी फागुन १४ गते सम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाईने छ । २५ गते केन्द्रमा, २६, २७, २८, २९ र फागुन १ गते घरदैलोमा र २ गते देखी १४ गते सम्म स्वास्थ्य संस्थाबाट औषधी खुवाईने छ ।
दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने योजना रहेको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । तर २ वर्ष मुनिका वालवालिका,गर्भवती महिला,७ दिनको सुत्केरी महिला, सिकिस्त विरामी तथा दिर्घरोगीहरु वाहेकले उक्त औषधि खानुपर्ने छ । औषधि खुवाउन स्वास्थकर्मीहरु खटिने जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार हात्तिपाईले रोगको संक्रमणका कारण दाङमा हाईड्रोशिल भएका १ हजार ६ सय ११, खुट्टा सुन्नीएका ४ सय २९ र हाइड्रोशिल सँगै खुट्टा सुन्नीएका १६ गरि २ हजार ५६ जना बिरामी छन । ती मध्ये १६ सय जनाको दाङका बिभिन्न अस्पतालमा निःशुल्क अप्रेसन गर्ने कार्यक्रम रहेको छ । नेपालमा कुल हात्तिपाईलेको सक्रमणका विरामीहरु १.७ प्रतिशत रहेको छ भने दाङमा ४ प्रतिशत छन् ।
नेपालका १३ वटा जिल्ला मध्ये बर्दियामा बढि १० प्रतिसत संक्रमणका विरामीहरु फेला परेका छन् । दाङमा करिब २ महिना अगाडी ४ स्थानमा परिक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालय दाङका अनुसार त्यसमध्ये सबैभन्दा बढि देउखुरी क्षेत्रमा ४ प्रतिशत,टरिगाउँका १.६ प्रतिशत, बङलाचुलीको कमिरेचौरमा ० प्रतिशत र नारायणपुरमा ०.७ प्रतिशत हात्तिपाईले रोगका संक्रमित विरामी भेटिएका छन् ।
यो रोग लामखुट्टेको टोकाईबाट सर्ने र कम्तीमा ६ महिनाको यो रोगको लक्षण देखा पर्ने र २ देखी १० बर्षमा पुर्णरुपले लक्षण देखा परि हात्तिको जस्ता खुट्टा हुने गर्दछ । हात्तिपाईले रोगबिरुद्धको औषधी निरन्तर ६ बर्षमा खाए संक्रमण नहुने चिकित्सकहरुले बताएका छन् । तर दाङमा यसअघि प्रभाकारि रुपमा औषधि खुवाउने कार्यक्रम हुन नसक्दा १० औं पटक हात्तिपाईले बिरुद्ध औषधि खुवाउने कार्यक्रम यसवर्ष पनि शुरु गरीएको हो ।