बाँके, बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेले स्थानीय तहबाट पाउने सेवा(सुविधा नपाउने भएका छन्। जिल्ला समन्वय समिति, बाँकेको बुधबार बसेको बैठकले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवा, सुविधा नदिने निर्णय गरेको हो।
बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि बाध्य भएर यस्तो निर्णय गर्न परेको जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले बताए। ‘आग्रह गर्दा अटेर गरेरपछि बाध्य भएर कठोर निर्णय गर्न पर्यो,’ उनले भने।
आम औषधि सेवनअन्तर्गत शनिबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान संचालन हुने भएको छ। बाँकेको ग्रामीण भेगभन्दा नेपालगन्ज नगरभित्र औषधि सेवन गर्नेको संख्या न्यून भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
जिल्लाका कोहलपुर र नेपालगन्ज उपमहानगरपालिकामा बढी हात्तीपाइले रोगको उच्च जोखिम भएको जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले बताए। बाँकेमा दशौँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ। नवौँ पटक औषधि खुवाउँदा पनि नियन्त्रण नभएपछि यस वर्ष पनि औषधि खुवाउने अभियान संचालन गरिएको उनले बताए। उनले बाँकेका चार लाख सर्वसाधारणलाई औषधि खुवाइने लक्ष्य रहेको बताए।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस