सल्यान, २० माघ । किसानका लागी बेमौसमी तरकारी खेती देखी सुन्तला खेती प्रविधि सम्मको तालिम कपुरकोटमा सुरु भएको छ । कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सोमबार देखी विभिन्न कृषक समूहका ३० जना सहभागीलाई तालिम सुरु गरिएको हो । बुधबार तालिम सकिने कृषि विकास शाखा प्रमुख प्रास टिका कुमारी राईले जानकारी दिईन् ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कृषिसंगै पशुपालन व्यवशायलाई पनि संगसंगै लैजानु पर्नेमा जोड दिए । अर्गानिक तरकारि उत्पादन गर्न किसानहरुलाई आग्रह गर्दै उनले कम्पोष्ट मल उत्पादनका लागी पशुपालन ब्यवशायलाई संगै अगाडी बढाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले प्राप्त ज्ञान, सिपलाई उपयोग गरेर आफ्नै खेतबारीमा परिश्रम पोख्ने हो भने मनग्य आम्दानी गर्न सकिने बताए । उनले किसानको साथमा स्थानीय सरकार रहेको बताए । कृषक मुल समिति कपुरकोटका अध्यक्ष ईश्वर बुढाले राज्यले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु निरन्तर ल्याइरहेको जनाउदै यसलाई उपयोग गरेर किसानले व्यवशायीक खेती मार्फत आर्थीक स्तर माथी उठाउनुपर्ने बताए ।
तालिममा अदुवा वाली अनुसन्धान कार्यक्रमका कृषि प्राविधिकहरु रमेश चौधरी, सुर्य भुसाल लगाएत कृषि विकास शाखाका प्रशिक्षकहरुले बेमौषमी तरकारि खेती र यसका सिद्धान्त, नर्सरी व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण दिने छन् ।
यस्तै तालिममा तरकारी बालीमा प्रयोग हुने ट्रयाप तथा विषादी सम्बन्धी, रोग किरा ब्यवस्थापन, एकिकृत शत्रुजीव व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिने कृषि विकास शाखाकी नाप्रास कमला वलीले जानकारी दिईन् । साथै टनेल भित्र गोलभेडा खेती, लहरे वाली खेती, सुन्तला खेती, वाली उप्रान्त पोष्ट हार्वेष्ट, माटो सम्बन्धी, कम्पोष्ट मल उत्पादन र मलखाद व्यवस्थापन सम्बन्धी जानकारी पनि तालिममा प्रदान गरिने उनले जनाईन् ।