रुख रोप्दा उत्पादन हुने रुखहरु रोपौँ : मन्त्री पौडेल

Author Logo..
२०७६ फाल्गुन ११ गते आइतवार


तुलसीपुर, प्रदेश ५ की कृषि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले नेपाललाई विश्वमा चिनाउनका लागि सामुदायिक वनको महत्व धेरै रहेको बताईन् । आईतबार तुलसीपुरको बेलझुण्डीमा उपमहानगरपालिकाले पहिलो पटक आयोजना गरेको वन उद्यम सम्वन्धि कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री पोडेलले रुख रोपेर मात्रै समृद्धि नआउने भन्दै उनले त्यसको वैज्ञानिक प्रयोगमा ध्यान दिनुपर्ने बताईन् । उनले अब रुख रोप्दा उत्पादन हुने रुखहरु रोप्नु पर्ने समेत बताईन् ।

उनले प्रदेश सरकारले बनलाई कृषि वन बनाउनको लागी अगाडि बढेको समेत बताईन् । त्यसैगरी मन्त्री पौडेलले वनमा आधारित उद्यम सञ्चालनका लागि केन्द्र र स्थानीय सरकारले पनि ध्यान दिएको बताईन् । तुलसीपुर उपमहानगरपालिका वन बातावरण तथा विपद् ब्यवस्थापन समितीका संयोजक एवं वडा नम्बर ६ का वडा अध्यक्ष नबराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख विजयराज सुवेदीले नेपालमा वनलाई उद्यमसँग जोड्न नसक्दा वाह्य सामानहरु आउने गरेको वताए

। उनले उद्यमशिलताको विकास गर्ने खालको उत्पादनमा जोड दिनुपर्ने समेत बताए । त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वन क्षेत्रका सबै कुरा पारदर्शी हुनु पर्ने बताईन् । उनले सामुदायिक वनमा महिला सहभागिताको अवस्था नाजुक भएको भन्दै महिलालाई कानुनमा मात्रै समावेश गरेर व्यवहारमा लागु गर्न नसकेकोमा दुख व्यक्त गरिन् । त्यसैगरी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयकी सचिव डाक्टर राधा वाग्लेले वन क्षेत्रको व्यवस्थापनका लागि सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिईन् ।

उनले सामुदायिक वनको कानुनमा महिलालाई पनि समान अधिकार दिएको भएपनि व्यवहारमा त्यसो हुन नसकेको बताईन् । त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले जलवायु परिवर्तन न्युनिकरणका लागि सामुदायिक वनले महत्वपूर्ण भुमिका खेलेको बताए । कृषि वन नीति नहुँदा सामुदायिक वनहरुले अपेक्षित रुपमा उपलब्धि हासिल गर्न नसको उनले बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले राजधानीमुखी छलफललाई स्थानीय स्तरमा ल्याएको बताए । उनले सामुदायिक वनको संरक्षणसँगै त्यसबाट उद्यमशिलताको विकासमा पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रमको सञ्चालन शाखा अधिकृत भिम प्रकाश खत्रीले गरेका थिए । सो अवसरमा १६ वुँदे दाङ घोषणापत्र समेत सार्बजनिक गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार