बंगलाचुली , दाङको बंगलाचुली गाउँपालिकाले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै विहिवार सहिद दिवस मनाएको छ । साथै गाउँपालिकाले दिवसको अवसर पारेर तत्कालिन जनयुद्धका सहिद परिवार ,घाईते अपाङ्ग परिवारलाई सम्मान समेत गरेको छ ।
गाउँपालिकाले २६ घर सहिद परिवार र १६ घर परिवार द्वन्द पिडित तथा घाईते अपाङ्गहरुलाई जनही २ हजार र दोसल्लाह सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षता एव दलित मुक्ति संगठनका केन्द्रीय सदस्य राधिका परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले सहिदको बलिदानले आज देश संघिय लोकतान्त्रीक गणतन्त्रमा पाहिला टेक्न सफल भएको बताए । साथै उनले सहिदले बगाएको रगतकै कारण देशमा नयाँ संविधान बनेर अहिलेको परिवर्तन सम्भव भएको बताए ।
उनले देश परिवर्तनका लागि सहिदले बगाएको रगतलाई सदैभ उच्च सम्मान प्रदान गर्दै अघि बढ्ने समेत बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सहिदहरुको सपना अनुसार देशमा अहिलेको परिवर्तन आएको चर्चा गर्दै परिवर्तनलाई संस्थागत गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले देशमा परिवर्तन गर्नका लागि विभिन्न कालखण्डमा थुप्रै जनाले रगत बगाएको स्मरण गराउँदै सहिदको रगतको अवमुल्यन कसैले पनि गर्न नहुँने बताएका थिए । गाउँपालिका उपाध्यक्ष यमुना थापामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले गरेका थिए ।