तुलसीपुर, दाङमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान शुरु भएको छ । बिहान १० बजेदेखि प्रदेश ५ मा मतदान सुरु भएको हो । मतदान केन्द्र दाङको घोराहीमा प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले पहिलो मत खसाल्दै मतदानको सुरुवात भएको थियो ।
निर्वाचनको लागि मतदान गर्न ५ प्रदेशका १२ वटै जिल्लाका मतदाता आइसकेका छन् । घोराहीको कर्मचारी मिलन केन्द्रमा २ वटा मतदान केन्द्रमार्फत मतदान भइरहेको छ । (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने (ख) मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने ब्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । (क) मतदान केन्द्रमा प्रदेश ५ का ८७ जना प्रदेश सभा सदस्य मतदाता रहेका छन् भने, ख मतदान केन्द्रमा प्रदेश भरका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ १८ जना मतदाता रहेका छन्।
प्रदेश ५ मा ९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट ३ जना , नेपाली कांग्रेसबाट ३ जना, समाजवादी पार्टीबाट २ जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट १ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमा नेकपाबाट अपाङ्ग सदस्यमा दाङबाट जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी नेपाली कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाचीबाट बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाबाट कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चा पार्टीबाट अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका थिए । प्रदेश ५ मा कुल ३ सय ५ जना मतदाताले राष्ट्रियसभा सदस्य चुन्न मतदान गर्ने अधिकार पाएका छन् ।