सल्यानमा वडाअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Author Logo..
२०७६ माघ ६ गते सोमवार

सल्यान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान बागचौर नगरपालिका २ का वडाध्यक्ष घनश्याम शर्मासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बागचौर नगरपालिकाअन्तर्गत पर्ने भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले शर्मासहित ६ जनाविरुद्ध विषेश अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले उक्त सडक निर्माण आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी नभएको कामको पनि काम भएको भनी गलत लिखत तयार पारेको अभियोगमा बागचौर नगरपालिका २ का वडाध्यक्ष शर्मालाई प्रतिवादी बनाएको छ। अख्तियारले वडाध्यक्ष शर्माविरुद्ध १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ। अख्तियारका अनुसार सबइन्जिनियिर योगी योगी र सहायक सबइन्जिनियर तोरण बहादुर विष्टले आयोजनामा बढी लागत देखाउने, शर्त तथा मापखण्डविनै सडक निर्माण गर्न लगाउने तथा झुटा बिल भर्पाइ बनाइ ७७ हजार ७ सय ७५ रुपैयाँभन्दा बढी भुक्तानी दिने गरेको देखिएको छ।

अख्तियारले सडक निर्माणका आयोजना समितिका चारजना पदाधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। अख्तियारका अनुसार सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकले नगरपालिकाका सबइन्जिनियर योगी र सहायक सबइन्जिनियर विष्टसँगको मिलेमतोमा झुटा नापी किताब एवं कार्यसम्पन्न प्रतिवेदन बनाएर अनियमितता गरेको देखिएको छ।

अख्तियारले सब–इन्जिनियर योगी र सहायक सबइन्जिनियर विष्टसँगै आयोजना निर्माण समितिका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकविरुद्ध ७७ हजार ७ सय ७५ रुपैयाँ बिगो कायम गरी र बिगोअनुसारको जरिवाना मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। सबइन्जिनियर योगी र सहायक सबइन्जिनियर विष्टको हकमा १ वर्ष कैद र थप ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार