घोराही, नेपाली कांग्रेसको सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा बहुमतको कम्युनिष्ट सरकारले राज्य आतंक मच्चाएको बताए । दाङको घोराहीमा शुरु भएको नेपाल मानव अधिकार संगठनकोे १४ औँ राष्ट्रिय सम्मेलनलाई आइतबार उद्घाटन गर्दै सभापति देउवाले कम्युनिष्ट सरकारले विभिन्न विधेयकका नाममा आम नागरिकलाई अप्ठ्यारोमा पार्ने देखि संचार माध्यमलाई समेत अंकुश लगाउन खोज्नु लोकतन्त्रमाथिको उपहास भएको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लोकतन्त्रमाथि एकपछि अर्को गरी पटक पटक आक्रमण हुँदा मानव अधिकार तथा मानवअधिकारवादीहरु पिल्सिएकाले अब सबै एक ठाउँमा उभिएर यसको प्रतिवाद गर्नु पर्नेमा जोड दिए । सभापति देउवाले बहुमतको आडमा राज्यलाई कमजोर बनाउने खालका कुनै पनि गतिविधि नगर्न सत्तारुढ दललाई आग्रह गरे । संगठनको उदघाटन सत्र सकिएलगत्तै अव बन्द सत्र शुरु भएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । २१ सदस्यीय संगठनको कार्यकाल ३ वर्षको रहने महासचिव महामुनिश्वर आचार्यले बताए । सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट मानवअधिकारवादीहरु सहभागी भएका छन् । अधिबेशन सोमबार सम्म चल्नेछ ।